नक्कली भुटानी शरणार्थी प्रकरण : रिहा हुँदा ४५ लाख बुझाए बालकृष्ण खाँणले

अदालतको भागमा ३० लाख, शुद्धीकरण अनुसन्धान विभागमा १५ लाख

Balkrishna khand in court

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ४५ लाख बुझाएर रिहा भएका छन् । खाँण ७ महिना जेल बसेर शुक्रबार छुटेका हुन् ।

उच्च अदालत, पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा छाड्न आदेश दिएका थिए । खाँणले आइतबार जिल्ला अदालत, काठमाडौंमा ३० लाखको बैंक ग्यारेन्टी बुझाए । त्यसपछि उनलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको थियो ।

शुद्धीकरण अनुसन्धान विभागले पनि खाँणलाई १५ लाख धरौटीमा छाड्न आदेश दियो । खाँणले बैंक ग्यारेन्टी राखेका छन् । अख्तियारले साधारण तारेखमा छाड्ने निर्णय गरेको प्रवक्ता नरहरि घिमिरेले बताए ।

अदालत, सम्पत्ति शुद्धीकरण र अख्तियारबाट छुटेपछि खाँण थुनामुक्त भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणले प्रहरीले उनलाई २७ वैशाखमा पक्राउ गरेको थियो ।

खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो । उक्त आदेशपछि खाण धरौटी बुझाउन काठमाडौं जिल्ला अदालतमा पुगेका थिए । त्यहाँ धरौटी बुझाएपछि उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि अनुसन्धान भइरहेकाले विभागले बयान लिएको थियो । बयानपछि विभागले १५ लाख रुपैयाँ धरौटी लिएर छोड्ने निर्णय गरेको थियो ।

नक्कली शरणार्थी प्रकरणमा जोडिएका खाणलाई २०८० वैशाख २७ मा प्रहरीले पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको थियो । जेठ १० मा खाण र अर्का पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतका चार कसूरको अभियोगमा मुद्दा दायर भएको थियो । पक्राउ परेका १८ र फरार १२ सहितका प्रतिवादीविरुद्ध दायर मुद्दामा असार १ गते थुनामा रहेका १६ लाई पुर्पक्षका लागि कारागार र २ जनालाई धरौटीमा छाड्ने आदेश भएको थियो ।

कारागारमा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध खाँणसहितका प्रतिवादीहरुले पुनरावेदनका लागि उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उक्त निवेदनको किनारा लगाउँदै मंसिर १५ मा उच्च अदालतले ६ जनालाई धरौटी, ४ जनालाई साधारण तारेख, पूर्वउपप्रधानमन्त्री रायमाझीसहितका ९ जनालाई पुर्पक्षका लागि कारागारमै राख्ने आदेश भएको थियो ।
खाँणको हकमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागारमै राखिराख्ने भन्नेमा न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो । राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा यो विषय पुगेको थियो । न्यायाधीश कृष्णराम कोइरालाले ३० लाख धरौटीमा छोड्ने रायमा सहमति जनाएका थिए । त्यसपछि खाणका लागि रिहा हुने बाटो खुलेको हो ।

प्रतिकृया दिनुहोस