असई थमन विक हत्या प्रकरण : ७ जनालाई जन्मकैदको सजाय, लक्ष्मी महतो कोइरीले पाए सफाइ

Laxmi koiri

काठमाडौं । महोत्तरीमा ८ वर्षअघि भएको सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जिल्ला अदालत महोत्तरीले ७ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।

बिहीबार जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरु सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको छ । यही मुद्दामा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले भने सफाइ पाएको अदालतकी श्रेष्तेदार नुतन झाले जानकारी दिइन् ।

जन्मकैदको सजाय सुनाइएका अभिराम शर्मा हाल मधेश प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलका नेता छन् । त्यस्तै जन्मकैदकै सजाय पाएका रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन् ।

यो मुद्दामा जिल्ला अदालत महोत्तरीले थुनछेक आदेशपछि तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र चार जनालाई तारेखमा रिहा गर्ने आदेश दिएको थियो । दुईजना तारेख गुजारेर बसेका छन् भने १९ जना फरार छन् । फरार रहेकाहरुको हकमा भने फैसला मुल्तवीमा राखिएको छ ।

कर्तव्य ज्यान मुद्दामा सन्दीप साह माझी, सञ्जयकुमार साह र पवन कापर पुर्पक्षका लागि थुनामा छन् । मुद्दाको फैसला हुँदा कापरले भने सफाइ पाएका छन् ।

प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र मोहन ठाकुर तारिख गुजारेर फरार भएका थिए । त्यस्तै लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामाशंकर मिश्र, सुरेश पाण्डे र धर्मेन्द्र राय साधारण तारेखमा छुटेका थिए ।

अभियुक्तहरु रमेशप्रसाद साह, सतेन्द्र चौधरी, चन्देश्वर साह, राजु चौधरी, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रविन्द्र राम चमार, रञ्जित साह, विकी साह, फुले यादव, रोहित कुमार शर्मा, लालबाबु बिन, शम्भु साह, अनित ठाकुर, अनिल ठाकुर, देवेन्द्र यादव र कौशल कुमार यादव फरार छन् ।

०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिइ लाठी, लात्ती, मुक्काले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते विकलाई उद्दार गरी प्रहरी टोलीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पु‍र्‍याएको थियो । घाइते विकलाई जिल्ला अस्पताल जलेश्वरमा प्रारम्भिक उपचारपछि सशस्त्र प्रहरी बल जिल्ला कमान्ड पोस्ट सुरक्षा बेस महोत्तरीले जिल्ला अस्पतालको एम्बुलेन्समा जनकपुर अञ्चल अस्पतला ल्याउँदै गर्दा महोत्तरी वडा नम्बर ८ सनोखडाको धान खेतमा आन्दानेलनकारीले हत्या गरेको प्रहरी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस