बारामा प्रहरीको गोली लागेका लक्ष्मी मुखियाको मृत्यु, मेयरको गाडीमा तोडफोड

Simraungad nagarpalika

बारा । बारामा प्रहरीको गोली लागेर घाइते एक जनाको मृत्यु भएको छ ।

सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर घाइते लक्ष्मी मुखियाको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

बुधबार नगरपालिका कार्यालय पुगेका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई आन्दोलनरत कर्मचारी र शिक्षकले माग सुनवाइ गर्न दबाब दिएका थिए । सो क्रममा विवाद हुँदा मेयरको गाडीमा तोडफोड गरिएको थियो । त्यही बेला प्रहरी र आन्दोलनरत कर्मचारी र शिक्षकहरूबिच झडप भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो ।

बारा प्रहरीका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गर्दा केही स्थानीय र सुरक्षाकर्मी घाइते भएका हुन् । गम्भीर घाइतेको नारायणी अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ । झडप हुँदा नगरपालिका कार्यालयमा क्षतिसमेत पुगेको छ ।

आन्दोलनकारीले नगरप्रमुख चढ्ने बा।२ झ ४३५४ नम्बरको गाडी पूर्णरुपमा तोडफोड गरेका छन् । महिनौँ दिनदेखि बन्द रहेको नगरपालिकामा आज दिउँसो नगरप्रमुख किशोरीप्रसाद कलवारले प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रलाई हाजिर गराउन जिल्ला प्रशासन कार्यालय बाराबाट लिएर गएपछि नगरपालिका भित्र प्रवेश गर्ने बित्तिकै तलबको माग गर्दै आन्दोलनरत समूहले कार्यकक्षमा बाहिरबाट ताला लगाएका थिए ।

प्रतिकृया दिनुहोस