नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँण थुनामै रहने

भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न आदेश

Top bahadur rayamaghi and indra jit rai

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँण थुनामा नै रहने भएका छन् ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।

उच्च अदालत, पाटनलले आज फैसला सुनाउँदै रायमाझी र खाँणलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । प्रहरीले रायमाझीलाई २० वैशाखमा बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

पाटन उच्च अदालतका न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटीमा छाड्ने आदेश गरेका छन् भने त्यसमा न्यायाधीश प्रकाश खरेलले असहमति जनाउँदै थुनामै राख्नुपर्ने आदेश गरेका छन् । अर्को आदेश नभएसम्म खाँण पनि थुनामै रहनेछन् ।

भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई भने १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । उनले इन्कारी बयान दिएको र जाहेरवालाबाट समेत रकम लिएको पुष्टि नभएको भन्दै रिजाललाई छाड्न आदेश भएको हो ।

उनी भुटानी शरणार्थीको नेता भएर नेपालमा शरण लिइरहेको र भागेर अन्यत्र जाने अवस्था पनि नभएको भन्दै रिजाललाई थुनामा राखी राख्नुनपर्ने उच्च अदालतले भनेको छ ।

४ जेठमा प्रहरीले रिजाललाई पक्राउ गरेको थियो । उनीसहित १६ जनालाई १ असारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । त्यसपछि केन्द्रीय कारागार सुन्धारामा थिए ।

टंक गुरूङ साधारण तारेखमा छुट्ने भएका छन् । रामशरण केसीसँग १५ लाख धरौटी माग भएको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी १० लाख रूपैयाँ धरौटीमा छुट्ने भएका छन् ।

रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश भएको छ । उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको भन्दै उनलाई छाड्ने आदेश भएको हो ।

प्रतिकृया दिनुहोस