रुस(युक्रेन युद्धमा मारिने नेपालीको संख्या ३ पुगेको पुष्टि, डेथ सर्टिफिकेट दूतावासलाई प्राप्त

Russia attack in ukraine

काठमाडौं । रुस-युक्रेन युद्धमा परी तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा पुतलीबजार -५ ठूलास्वाराका प्रितम कार्की, दोलखाको मेलुङ -६ सुनापती टोलका राज कुमार रोका र इलाम -५ इलामका गंगाराज मोक्तान छन् ।

उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिए । थपलिया भने असार २९ मा नै युक्रेनको बाखमुतमा मारिएका थिए । थपलिया एक वर्षअघि रुसी सेनामा भर्ती भई गत जेठमा युद्धका लागि युक्रेन पठाइएका थिए । त्यसको एक महिनालगत्तै उनी मारिएको खबर परिवारले पाएका थिए ।

रुसले थपलियाको शव भने नेपाल पठाउन नमिल्ने भन्दै असार २९ मा रुसको इभानोभोको नाभो–तालिस्टीस्थित चिहानमा समाधिस्थ गरिदिएको थियो ।यसबाहेक पनि थप नेपाली युद्धमा परेको हुन सक्ने आशंका गरिएको छ ।

मस्कोस्थित नेपाली दूतावासले मंसिर ८ गते काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेर उनीहरुको शव व्यवस्थापनका लागि परिवारसँग समन्वय गर्नुपर्ने भएकाले सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिन अनुरोध गरेपछि मात्र रुसी सेनामा कार्यरत नेपालीहरुको मृत्यु भएको खुलेको हो ।

उक्त पत्रमा रुसी सेनाका अधिकारीले टेलिग्राममार्फत् तीन जना नेपालीहरुको मेडिकल डेथ सर्टिफिकेट मस्कोस्थित नेपाली दूतावासलाई प्राप्त भएको व्यहोरा उल्लेख छ । तर उनीहरु कुन स्थानमा र कसरी मारिए भन्ने उल्लेख छैन ।

यी तीन नेपालीहरुको मृत्यु हुनुअघि गोरखाका थपलिया थरका अर्का एक नेपालीको पनि गत असारमै मृत्यु भएको मिडिया रिपोर्ट सार्वजनिक भइरहेका छन् । असार २९ गते मृत्यु भएका भनिएका गोरखाका थपलिया र कात्तिक २९ गते मृत्यु भएका थप तीन जना गरी चारै जनाको विवरण दूतावासले आजसम्म सार्वजनिक गरेको छैन ।

नेपालको सेना भर्तीसम्बन्धी सम्झौता भारत र बेलायतसँग मात्र भएकाले रुसी सेनामा भर्ती हुन नीतिगत र कानुनी रुपमा मिल्दैन । यद्यपि अध्ययन वा घुम्ने सिलसिलामा रुस पुगेकाहरु त्यहाँको सेनामा भर्ती भएको पाइएको छ । ‘रुसी सेनामा गोर्खाली’ लेखिएका भिडिओहरु सामाजिक सन्जालमा पनि देखिन्छन् ।

युक्रेनसँगको लडाइँमा रुसले भाडाका सैनिक वाग्नर समूहलाई खटाउने गरेको छ । युक्रेनसँगको लडाइँ सुरु भएपछि रुसले आकर्षक तलब सुविधा पाइने भन्दै भर्ना हुन आह्वान सहितको प्रचार सामग्री बनाएको थियो ।

२०७८ फागुन १२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि युद्ध अझै पनि जारी छ । रुस–युक्रेन युद्धपछि झन्डै १२ सय नेपालीले युक्रेन छाडेका थिए । युक्रेनविरुद्धको युद्धपछि रुसले नेपालीलाई आफ्नो सेनामा भर्ती गराइरहेको छ । उसले ६ महिनाअघि मात्रै सैन्य समूहमा न्यूनतम एक वर्ष सेवा गर्ने विदेशीलाई नागरिकता नै दिने र अन्य सेवामा भन्दा चार गुणा बढी तलब दिने गरी कानुन जारी गरेपछि नेपाली युवाको आकर्षण बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार श्रमस्वीकृति लिएर पछिल्लो १६ महिनामा ५ सय ९६ जना नेपाली रुस गएका छन् । सबैभन्दा बढी पछिल्लो चार महिनामा ३ सय ४ जना गएको देखिन्छ । साउनमा ५३, भदौमा १ सय ६१, असोजमा ४७ र कात्तिकमा ४३ जना नेपाली रुस गएको देखिन्छ । अध्यागमन विभागका अनुसार २०२२ को जनवरीदेखि नोभेम्बर २०२३ सम्म अध्ययन, श्रम र भिजिट भिसामार्फत २९ सय जना रुस गइसकेका छन् ।

प्रतिकृया दिनुहोस