सरकार भन्छ, भीपीएन र ओपन डीएनएसबाट टिकटक चलाउँदा बैंक खाताबाट पैसा चोरी हुनसक्छ

Free vpn and open dns techpana

काठमाडौं । सरकारले टिकटक बन्द गरेसँगै कतिपय प्रयोगकर्ताले फ्रि भीपीएन र ओपन डीएनएसबाट टिकटक चलाउन थालेसँगै सरकारले सचेत रहन आग्रह गरेको छ ।

भीपीएन र डीएनएस प्रयोग गर्न व्यक्तिगत डेटा चोरी हुने, ईमेल अकाउन्ट ह्याक हुने, बैंक खाताबाट पैसा चोरी हुने, कसैको ब्ल्याकमेलमा परिनेजस्ता जोखिम बढ्ने भएकाले त्यस्ता नेटवर्क प्रयोग नगर्न सर्वसाधरणलाई सचेत गराएको हो ।

फ्रि भीपीएन र ओपन डीएनएस चलाउँदा बैंक खाताबाट पैसा चोरी हुनेदेखि इमेल अकाउन्ट ह्याक हुने जोखिम रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘फ्रि भीपीएन र ओपन डीएनएसको प्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, मालवेयर क्रियाकलाप बढ्ने, गोपनीयता सुरक्षित नहुने, इमेल अकाउन्ट ह्याक हुने, इन्टरनेट स्पीड घट्ने, बैंक खाताबाट पैसा चारी हुने, कसैको ब्ल्याकमेलमा परिने जस्ता जोखिम बढ्ने भएकाले यस्ता नेटवर्क प्रयोग नगर्न सबैमा अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय सार्वभौमिकताको रक्षा र साइबर अपराधका घटना न्यूनीकरणमा समेत सरकारले यस्तो कदम चालेको मन्त्रालयको भनाइ छ । सामाजिक सञ्जालको रुयमा प्रयोग भइरहेको टिकटकको माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै भन्दै सरकारले नेपालमा टिकटकको प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो ।

 

प्रतिकृया दिनुहोस