जाजरकोटमा चिसोका कारण मृत्यु हुनेको संख्या १२ पुग्यो

Vukamp jajarkot

जाजरकोट । जाजरकोट भूकम्पछि चिसोका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

भेरी नगरपालिका २ का हुकुमबहादुर पुनको १ महिने छोरी निरुता चिसोका कारण बिरामी भएकोमा आज जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पूर्व वडाअध्यक्ष कालिबहादुर खत्रीले बताए ।

यसअघि चिसोका कारण ११ जना भूकम्प प्रभावितको मृत्यु भएको थियो । तीमध्ये अधिकांश दीर्घ रोगी थिए । पूर्व वडाअध्यक्ष खत्रीका अनुसार पालमा रहँदा बिरामी भएपछि उपचारका लागि निरूतालाई दिउँसो अस्पताल ल्याइएको थियो ।

भेरी नगरपालिकाको १ र २ नम्बर वडामा २५ भन्दा धेरै बालबालिका चिसोका कारण बिरामी परेका छन् भने उपचारका लागि शिविर चलाउन स्थानीयबासीले माग गरेका छन् ।

कात्तिक १७ गते राती गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोटमा १०१ जनाको मृत्यु र १४५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ५३ जनाको मृत्यु र २०२ जना घाइते भएका छन् ।

यसैगरी जाजरकोटमा ३४ हजार ५०१ वटा घरमा क्षति पुग्दा रुकुम पश्चिममा २६ हजार ५३१ घर क्षतिग्रस्त भएको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ । भूकम्पले जाजरकोट, रुकुम पश्चिम र सल्यानमा क्षति पुगेको छ ।

प्रतिकृया दिनुहोस