चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सफल

Liver trasplant bharat bikram

चितवन । चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सफलतापूर्वक भएको छ । जाजरकोट जिल्ला कुशे गाउँपालिका–९ का ४७ वर्षीय भरतविक्रम शाहीको कलेजका चिकित्सकले अठार घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको हो ।

कलेजद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कलेजका कार्यकारी निर्देशक प्रताप देवकोटाले शाहीलाई उनकी धर्मपत्नी कमलादेवीले ६० प्रतिशत कलेजो प्रदान गरेको बताए ।

अस्पतालका विषेशज्ञ चिकित्सक सर्जन डा. सञ्जयकुमार यादव, डा.एकानन्द सिंह, डा.जयन्तकुमार शाह, हेपाटोलोजी डा.सागर पौडेल, डा.वरुण श्रेष्ठ, एनेस्थेसिया डा.किरण अधिकारी, डा.नवीन यादव, डा.सुरेश गौतम, डा.वीरेन्द्र राउत, रेडियोलोजिष्ट डा.दीपक अधिकारी, डा.सुवास ओझासहितका टोली प्रत्यारोपणमा सहभागी भएका थिए ।

प्रत्यारोपणमा भारतको एपोलो अस्पतालका विषेशज्ञ चिकित्सकको सहभागिता रहेको थियो । कार्यकारी निर्देशक देवकोटाका अनुसार सिरोसिस् अफ लिभरको सी चरणमा पुगेका बिरामीलाई कलेजो प्रत्यारोपण गरिएको हो ।

काठमाडौँमा कलेजोको जाँच तथा उपचार गराउँदै आएका शाही दुई साताअघि मात्रै चितवन मेडिकल कलेज गएको बताएको छ । सिरोसिस् अफ लिभरको ‘ए’ ‘बि’ ‘सि’ चरणमध्ये शाही ‘सी’ चरणमा पुगेको जनाउँदै डा.यादवले भने, “गत फागुनमा ‘सि’ चरणमा पुगेका शाहीलाई प्रत्यारोपण नगराएको भए थप जीवन रहन मुस्किलपर्ने अवस्था थियो ।”

शाहीका पेटमा पानी भरिएर ठूलो भएको थियो । उनले भने “अल्कोहलका कारण कलेजो बिग्रिएको त थियो नै, हेपाटाइटिस ‘बि’ पनि बिरामीमा थियो ।” कलेजलो दाता कमलादेवीको स्वास्थ्यमा सुधारपछि उहाँलाई यही असार २७ गते नै अस्पतालबाट घर पठाइएको छ । शाहीको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको चिकित्सक यादवको भनाइ छ । उनले भने, “अहिलेकै गतिमा सुधार भए आगामी साता उहाँलाई समेत घर पठाउन सकिने अवस्था छ ।”

उनले अगाडि भने, “दुई देखि तीन महिनामा दुबै जनामा कलेजोको अवस्थामा वृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाएर आउछ । उहाँहरू दुबै जना सामान्य जीवन बिताउन सक्नुहुन्छ ।”पत्रकार सम्मेलनमा हेपाटोलोजी डा पौडेलले प्रत्यारोपणका क्रममा झण्डैं १३ युनिट रगत खर्च भएको जानकारी दिए । सो कलेजले दोस्रो प्रत्यारोपण सफल गरेको हो । उनले अघिल्लो प्रत्यारोपणमा एकरदुई युनिट रगतले नै पुगेको बताए ।

प्रतिकृया दिनुहोस