तीनवटा प्रदेशमा भोलीबाट भेरोसेल खोप लगाईदै

Khoop e

काठमाडौं । सरकारले मंगलबारदेखि तीनवटा प्रदेशमा कोभिड–१९ विरुद्धको भेरोसेल खोप अभियान कार्यक्रम शुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय बैठकले २९ गते मंगलबार देखि नै खोप अभियान कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो ।

मन्त्रीस्तरीय निर्णय बमोजिम नै बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा असार २९ मंगलबारदेखि खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।

 खोपको उपलब्धता बढेसँगै खोप अभियान कार्यक्रमलाई निरन्तरता दिइने र अन्य प्रदेशमा पनि छिट्टै खोप कार्यक्रम सञ्चालन हुने डा. पौडेलले बताएका छन् ।

उनका अनुसार भेरोसेल खोप ५५ वर्ष र सो भन्दामाथिका उमेर समूहका खोप लगाउन बाँकी रहेका नागरिकलाई दिइने छ ।

विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने उनले बताए ।

खोप भण्डारण शाखा प्रमुख बडेबाबु थापाका अनुसार लुम्बिनी प्रदेशका लागि १ लाख १४ हजार र गण्डकी प्रदेशका लागि १ लाख १२ हजार खोप पठाइसकिएको छ । यसैगरी बागमती प्रदेशको मकवानपुर, सिन्धुली र चितवनका लागि ८२ हजार डोज खोप हेटौंडा पठाइएको उनले बताए ।

‘मंगलबारबाट खोप कार्यक्रम सञ्चालन गर्न निर्देशन दिने काम भइसकेको छ । खोप सञ्चालनका लागि कहाँ कति वटा सेन्टर राख्ने भन्ने कुरा प्रदेश र जिल्लास्तरीय खोप समन्वय समितिलाई नै निर्णय गर्ने अधिकार दिएको डा. गौतमले भने ।

प्रतिकृया दिनुहोस