अमेरिकाले दिने १५ लाख डोज खोप भोली नेपाल आउँदै

Corona khop

काठमाडौं । सरकारले कोरोना खोपका लागि पर्याप्त पहल नगरेको आरोप लागिरहेकै बेला अमेरिकी सरकारले उपलब्ध गराउने १५ लाख डोज खोप सोमबार आउने भएको छ । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन खोप निःशुल्क उपलब्ध गराउन लागेको हो ।

नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता आना रिची–एलेनले शुक्रबार उक्त खोप नेपालमा आउने जानकारी दिएकी थिइन् । नेपालले यस अघिदेखि नै अमेरिकालाई खोप सहयोगको लागि आग्रह गर्दै आइरहेको थियो ।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई खोप सहयोगको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेकी थिइन् । तर, उक्त पत्र लेखेको एक महिना कटिसक्दा समेत हालसम्म अमेरिकी राष्ट्रपति बाइडेनकोतर्फबाट नेपालले कुनै जवाफ प्राप्त गरेको छैन ।

अर्कोतर्फ स्वास्थ्य मन्त्रालयले अमेरिकी सरकारलाई यसअघि ५० लाख जोन्सन एन्ड जोन्सन खोप खरिदको लागि पत्र लेखेको थियो । उक्त खरिदको काम पनि अघि बढ्न सकेको छैन ।

सरकारले देशभर शुरु गरेको कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत सातै प्रदेशमा पहिलो र दोस्रो मात्र गरि ३५ लाख ४५ हजार ६७५ जनाले कोभिसिल्ड र भेरोसेल खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २६ लाख ११ हजार ८०७ जनाले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लिएका छन् भने जसमध्ये नौ लाख ३३ हजार ८६८ जनाले कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लिएका छन् ।

प्रतिकृया दिनुहोस