असार २४ गते चीनबाट कोरोना खोप आउने, कसलाई लगाइन्छ चीनबाट आउने खोप ?

China vaccine1619658110

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोप आगामी साता चीनबाट ल्याइने भएको छ । चीनको बेइजिङबाट नेपालले उक्त खोप एयरलाइन्सको जहाजबाट असार २४ गते ल्याउन लागेको हो ।

खोप शाखाका प्रमुख डा. झलक गौतमका अनुसार चीनबाट ल्याइने खोप उमेर समूहको प्राथमिकताका आधारमा लगाउने तयारी भएको छ । अब आउने खोप अत्यावश्यक तथा जोखिम क्षेत्रमा काम गर्ने मानिसहरूलाई समेत प्राथमिकताका आधारमा लगाइने छ ।

यसअघि पेट्रोलियम क्षेत्रमा काम गर्ने कर्मचारीहरूले खोपको माग गरेका थिए । उनीहरूले सरकारले खोप उपलब्ध नगराए सेवा नै ठप्प पार्नेसमेत चेतावनी दिएका थिए । अब आउने खोप जोखिमका क्षेत्रमा काम गर्ने कर्मचारीलाई पनि हानिने छ ।

यसअघि चीनबाट दोस्रो चरणमा अनुदानमा आएको खोप पनि सरकारले उमेर समूह अनुसार नै वितरण गरेको थियो । उक्त खोपको पहिलो मात्रा लगाउने काम सकिएको छ भने दोस्रो मात्रा आगामी असार २२ गतेदेखि लगाइने भएको छ ।

६० वर्ष माथिका कति व्यक्तिले अझै खोप लगाउन बाँकी रहेको भन्दै पहिलो प्राथमिकतामा ती उमेर समूहका मानिसहरू पर्ने उनको भनाई छ । तर यसअघि ६० वर्ष माथिका झन्डै १४ लाख मानिसले (कोभिसिल्ड) खोप लगाएका छन् । त्यसैले उनीहरूलाई दोस्रो मात्रा पनि कोभिसिल्ड नै लगाउनुपर्ने भएकाले पहिलो मात्रा लगाउनुपर्ने ६० वर्ष माथिका मानिस धेरै छैनन् ।

खोप पाउने दोस्रो प्राथमिकतामा ५५ वर्ष माथिका उमेर समूह हो । उनले ५५ वर्ष माथिका उमेर समूहमा कति मानिस छन् भनेर संख्या निकाल्ने काम भइरहेको भन्दै अब ६० वर्ष माथिकालाई पुगेपछि ५५ वर्ष माथिकालाई खोप लगाइने बताए ।

प्रतिकृया दिनुहोस