कोरोना महामारीमै फेरिए ३ स्वास्थ्यमन्त्री, मन्त्रीका बाचा बोलीमै सीमित

Swasthya mantralaya

काठमाडौं । कोरोना महामारीयता मात्रै चार स्वास्थ्यमन्त्री परिवर्तन भएका छन् । कोरोना महामारीयता भानुभक्त ढकाल, हृदयेश त्रिपाठी र शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेकोमा बिहीबार कृष्णगोपाल श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री ओलीले सुरुमा आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राखेर पद्मा अर्याललाई राज्यमन्त्री बनाएका थिए । लगत्तै १८ जेठ २०७५ मा उपेन्द्र यादवले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाले । तर, उनी धेरै समय स्वास्थ्य मन्त्रालयमा रहन सकेनन् ।

४ मंसिर २०७६ मा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाललाई दिइयो । उनी पनि जेनतेन एक वर्ष टिके । लगत्तै, १० पुस २०७७ मा स्वास्थ्यमन्त्रीको जिम्मेवारी त्रिपाठीले पाए । उनी पनि पाँच महिना मात्रै टिके ।

लगत्तै शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालय सम्हाल्ने मौका मिल्यो । तर, सर्वोच्च अदालतले मन्त्री नियुक्ति बदर गरिदिएपछि बिहीबार कृष्णगोपाल श्रेष्ठले स्वास्थ्य मन्त्रालयसहितको जिम्मेवारी पाएका हुन् ।

३ फागुन २०७४ मा प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्ति भएयता तीन वर्ष चार महिनाको अवधिमा ६ जना स्वास्थ्यमन्त्री फेरिएका छन् ।

ओली प्रधानमन्त्री भएयता पद्मा अर्याल, उपेन्द्र यादव, भानुभक्त ढकाल, हृदयेश त्रिपाठी र शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालिसकेका छन् । बिहीबारदेखि भने मन्त्री श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय पनि हेर्नेगरी जिम्मेवारी दिइएको छ ।

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण दर र मृत्युदरमा केही कमी आएको छ । वैशाख दोस्रो सातादेखि पुनः फैलिएको कोरोनाको दोस्रो लहरले मुलुक नै रोएको थियो । विज्ञहरूले संक्रमणको तेस्रो लहर पनि आउन सक्ने चेतावनी दिइसकेको छन् ।

स्वास्थ्य संकटको यो घडीमा स्वास्थ्य मन्त्रालय हाँक्ने मन्त्रीको जिम्मेवारी अलि बढी नै हुन्छ । तर, जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो मन्त्रालय हाँक्ने मन्त्री नै फेरिरहँदा कार्य सम्पादनमा समस्या आएको पाइएको छ ।

कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटकपटक मन्त्री परिवर्तन हुँदा अनेकन समस्या देखिएको छ । एक जना मन्त्रीले आफूले सारेको योजनालाई कार्यान्वयन गर्न नपाउँदै छिटोछिटो मन्त्री हेरफेर हुँदा कार्यसम्पादनमा समस्या देखिएको हो ।

 

प्रतिकृया दिनुहोस