नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, जो अत्यन्तै संक्रामक छ

Corona virus photo

काठमाडौं । नेपालमा कोरोना महामारीको त्रास कायमै रहिरहेका बेला नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन भेटिएको छ ।

भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ९ वटा नमुनामा नयाँ म्युटेसन फेला परेको हो ।यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् ।

यसअघि बेलायती सञ्चार माध्यमले ‘नेपाल भेरियन्ट’ भनेर दाबी गरेको यही म्युटेसन हो । नेपालबाट गएका र कोरोना संक्रमण भएकाहरुमा के ४१७ एन’ म्युटेसन भेटिएकै आधारमा उनीहरुले यो दाबी गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार ४७ डेल्टा भेरियन्टमध्ये ९ नमुनामा के ४१७ एन म्युटेसन भेटिएको छ ।

‘देशका विभिन्न भागबाट विभिन्न उमेर समूह र लिंगलाई प्रतिनिधित्व हुने गरी राष्ट्रिय प्रयोगशालाले वैशाख २६ देखि जेठ २० गतेसम्म ४८ वटा नमुना संकलन गरेको थियो । उक्त नमुनालाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको भारतको उक्त प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्न पठाइएको थियो ।

हालसम्म प्राप्त जानकारी अनुसार यो म्युटेसन डेल्टा भेरियन्टभन्दा अझ संक्रामक छ र संक्रमितमा अझ गम्भीर असर देखिएको छ । तर यो म्युटेसनबारे धेरै विषय अध्ययन गर्न नै बाँकी छ ।

नेपालमा यसअघि डेल्टा, अल्फासहित काप्पा भेरियन्ट पनि भेटिएको थियो । तर काप्पा भेरियन्टले स्वास्थ्यमा गम्भीर असर नपार्ने भएकाले डब्ल्यूएचओले यसलाई भेरियन्ट अफ कन्सर्नको नाम दिइसकेको छैन ।

संक्रमणको जोखिम कायमै रहेको भन्दै मन्त्रालयले सहयोग गर्न जानेहरुले अनिवार्य रुपमा सुरक्षा सावधानी नअपनाउने हो भने संक्रमण बढ्ने खतरा रहेको भन्दै ध्यानआकृषण गराएको छ ।

प्रतिकृया दिनुहोस