धनकुटामा बन्यो भेन्टिलेटर सहितको आईसीयू कक्ष, चलाउन समस्या

Dhankuta icu bed

धनकुटा । धनकुटाको जिल्ला अस्पतालमा पहिलो पटक ठूलो लगानीमा भेन्टिलेटर सहितको आईसीयू कक्ष निर्माण सम्पन्न भएको छ ।

सरकारले गत वर्ष कोरोना महामारी फैलिएका बेला चार वटा भेन्टिलेटरसहित १० बेडको आईसीयू कक्ष निर्माण गर्न दुई करोड बजेट उपलब्ध गराएको थियो । सोही बजेटबाट जिल्ला अस्पतालको माथिल्लो तलामा आईसीयू कक्ष निर्माण गरिएको छ ।

गम्भीर अवस्थाका विरामीको उपचार गर्न भेन्टिलेटर सहितको आईसीयू कक्ष निर्माण गरिएको भए पनि दक्ष जनशक्ति अभावका कारण सञ्चालनमा आउन भने सकेको छैन ।

भेन्टिलेटर चलाउने दक्ष जनशक्ति नहुँदा आईसीयू कक्ष सञ्चालन गर्न समस्या भएको र जनशक्ति हुने वित्तिकै सञ्चालन गर्न सकिने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पुजन विश्वकर्माले बताए ।

जिल्ला अस्पतालले आवश्यक पर्ने १६ जना जनशक्ति माग गरेर सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई पत्र पठाइएको डा. विश्वकर्माले जानकारी दिए ।

कोरोना महामारी फैलिरहेका बेला गम्भीर अवस्थाका संक्रमितलाई आईसीयू र भेन्टिलेटरको अभाव भइरहेको छ । धनकुटाका संक्रमितहरुलाई पनि भेन्टिलेटरमा राख्नुपर्ने सुनसरी र मोरङका सुविधासम्पन्न् अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता छ । तर, ठूलो लगानी गरेर खरिद गरिएको भेन्टिलेटर निर्माण सम्पन्न भए पनि दक्ष जनशक्तिकै अभावमा प्रयोगमा आउन सकेको छैन ।

प्रतिकृया दिनुहोस