ब्ल्याक फङ्गसबाट पर्सामा ३ जनाको मृत्यु, झन बढ्यो जोखिम

Black fungus

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १० भन्दा बढीमा ब्ल्याक फङ्गस अर्थात् कालो ढुसी देखिए बताइरहेका बेला पर्सामा ब्ल्याक फङ्गसको संक्रमणबाट ३ जनाको मृत्यु भएको पाइएको छ ।

पहिलोपटक वीरगंजमा देखापरेको ब्ल्याक फङ्गस संक्रमण हालसम्म ८ जनामा पुष्टि भएको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ भने बाँकी ५ जना संक्रमितको थप उपचारका लागि भारत पठाइएको छ ।

नारायणी अस्पतालका डा. नीरज सिंहका अनुसार ब्ल्याक फङ्गस संक्रमणको उपचार नेपालमा सम्भव नभएकोले बिरामीलाई भारत पठाइएको छ । उनीहरूको उपचार पटनामा र लखनउमा भइरहेको छ ।

भारतका कतिपय राज्यमा ब्ल्याक फङ्गसलाई महामारीको रुपमा घोषणा गरिसकेको छ । त्रिवि शिक्षण अस्पतालमा कालो ढुसी सक्रमण भएका ४० वर्षका एक पुरुषको आँखा र नाकको शल्यक्रिया गरिएको थियो ।

कोभिड बिरामीसँगै दीर्घरोगी जस्तै क्यान्सर, मृगौला, मुटु, अंग प्रत्यारोपण गर्ने, क्यान्सरको उपचार गराइरहेकाहरुमा फङ्गस अर्थात ९कालो ढुसी० उच्च जोखिम रहेको छाती रोग विशेषज्ञ डा. निरज बम बताउँछन् ।

करिब एक महिनाअघि वीरगञ्जकै एड्भान्स अस्पतालमा उपचाररत रहेकी वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ स्थित अलौंकी ६५ वर्षीया महिलामा पहिलो पटक ब्ल्याक फङ्गसको संक्रमण पुष्टि भएको थियो ।

​दोस्रो केस बारा घर भइ उपचारका लागि वीरगञ्ज पुगेका ५५ वर्षीय पुरुषको जेठ ३ गते र वीरगञ्ज वडा नम्बर १३ बस्ने ६७ वर्षीय पुरुषको पनि वैशाख ३० गते निधन भएको थियो ।

नेपाल र भारतमा कोरोना संक्रमितमा देखापरिरहेको ब्ल्याक फङ्गस मानिसबाट अर्को मानिसमा सर्दैन । अहिलेसम्मको रिसर्चका अनुसार ब्ल्याक फङ्गस हावा र माटोबाट सर्ने गरेको पाइएको छ ।

फोक्सोमा पनि ब्ल्याक फङ्गसले श्वासप्रश्वासको माध्यमबाट क्षति पु¥याउन सक्छ । शरीरमा कुनै घाउ वा जलेको भए त्यहाँबाट संक्रमण शरीरका विभिन्न भागमा सक्रमण फैलन सक्छ । कालो ढुसी शरीरको जुन क्षेत्रमा पनि लाग्न सक्छ । जहाँ कालो ढुसी लाग्छ त्यहाँको भाग काम नलाग्ने बनाउन सक्छ । जस्तै अहिलेसम्म नाक, मुख, आँखाको वरिपरिको भागमा कालो ढुसी लागेको देखिएको छ ।

भारतमा कालो ढुसी आँखा वरिपरि लाग्दा आँखा नै निकाल्नुपर्ने अवस्था सिर्जना भएको उनीले सुनाए । आँखाको ज्योति समेत गुम्नसक्छ । यो टाउकोमा भयो भने ब्रेन ट्युमर लगायतका रोग लाग्छ ।

ब्ल्याक फङ्गस शरीरको जुन हिस्सामा संक्रमण हुन सक्छ । संक्रमणको आधारमा लक्षण देखिने गर्छ । जस्तै ज्वरो आउने, टाउको दुख्ने, नाक बन्द हुने, बान्ता तथा उल्टी आउने, छाती दुख्ने, अनुहारको एकपट्टिको भाग फुलिने, नाकमा कालोकालो घाउ देखिने हुन्छ । सामान्यतया कोरोना संक्रमणको लक्षण देखिएको २ देखि ४ हप्तासम्म कालो ढुसीको समस्या देखिन्छ ।

प्रतिकृया दिनुहोस