मागअनुसार अण्डा पुर्याउन मुस्किल

Egg

काठमाडौँ । कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा भइरहँदा अण्डाको माग धान्न मुस्किल पर्न थालेको छ । निषेधाज्ञामा घरमा बसेकाले उपयोग बढाएपछि उत्पादनले धान्न कठिन हुँदै गएको अनुमान गरिएको छ ।

आफ्नै उत्पादन र सङ्कलन गरेर देशैभर अण्डा बिक्री गर्दै आएको दाउन्ने ग्रुप अफ पोल्ट्रीका कार्यकारी निर्देशक विनोद पोख्रेल मागअनुसार अण्डा पुर्याउन कठिन भएको बताउँछन् । दैनिक एक लाख ३८ हजार गोटा आफ्नै उत्पादन र त्यति नै सङ्ख्यामा कृषकको अण्डा सङ्कलन गरेर दाउन्नेले देशभर बिक्री गर्दै आएको छ । देशकै सबैभन्दा ठूलो सञ्जालसहितको सप्लायर्स दाउन्ने भएको जानकारी दिँदै उनले आफूले पालो मिलाएर मात्र अण्डा दिन सकेको बताए ।

उनले भने, “बिक्रेताले मागेकै दिनमा अण्डा दिन सक्ने अवस्था छैन ।” माग बढेकै कारण उत्पादनले पुर्याउन कठिन भएको व्यवसायी बताउँछन् । निषेधाज्ञामा घरमा रहेकाहरुले अण्डाको उपयोग बढाएको पाइएको छ । पहिलेको तुलनामा उत्पादन घटेको र माग बढेको छ । बीचका केही महिना उत्पादन निकै घटेको भए पनि अहिले बढ्दो क्रममा रहेको छ । यद्यपि पहिलेको तुलनामा पुग्न सकेको छैन ।

अण्डा उत्पादक कृषक मदन पोख्रेल कोरोनाको सङ्क्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागिसमेत सहयोगी हुने भएकाले उपभोग बढेको बताउँनुहुन्छन । उनले भने, “किराना पसल खुल्दा सबैको हातहातमा अण्डाको क्रेट देख्न सकीन्छ ।” आफूलाई विभिन्न जिल्लाबाट अण्डाको माग हुने गरेको उनको भनाइ छ । अण्डाको मूल्य पहिलेको तुलनामा बढेको भए पनि दानाको कच्चापदार्थमा भारी वृद्धिका कारण कृषक लाभान्वित हुन नसकेको उनले जानकारी दिए ।

वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारी कोरोना सङ्क्रमणको समयमा शरीरमा चाहिने पोषणको पूर्ण मात्रा (कम्प्लिट प्याकेज) अण्डामा पाइने बताउँछन् । एशियाका देशमा खाने खानामा कार्बोहाइडे«ट बढी हुने भन्दै उनले अण्डामा कम हुने र प्रोटिनको राम्रो स्रोत भएकाले यसको खपत बढेको हुन सक्ने बताए । शरीरले नबनाउने र बाहिरबाट लिनुपर्ने आवश्यक एमिनो एसिडको नौवटै तत्व अण्डामा पाइने भरतपुर अस्पतालका अध्यक्षसमेत रहनुभएका अधिकारीले जानकारी दिए । उनले भने, “रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि अण्डा उपयुक्त हुन्छ ।”

कृषकको भनाइमा हाल दैनिक २८ लाख हाराहारी अण्डा उत्पादन हुन्छ । यो सङ्ख्या घटेर २४ लाखमा झरेको थियो । पहिले बढेको समयमा ३५ लाख पुगेको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष शिवराम केसीले पानी परेर गर्मी घटेपछि अण्डा बढेको जानकारी दिए । घरमा बसेकाहरुले सुरक्षित पौष्टिक आहारका रुपमा अण्डालाई लिएको उनको भनाइ छ । निषेधाज्ञामा देशभर अण्डा रोकटोक नभएकाले सबैले अण्डा पाउन सकेका छन् ।

उनले भने, “अण्डाको पौष्टिक तत्वका बारेमा बुझ्ने, नबुझ्ने सबैले खाएका छन् ।” होटेल, रेष्टुरेन्ट नखुल्दा र भोजभतेर नहुँदासमेत खपत राम्रो भएको केसी बताउनुहुन्छ । पहिले बाहिर खानेले अहिले घरमा खाइरहेको उनको भनाइ छ । माग बढेसँगै मूल्यमा पनि वृद्धि भएको छ । हाल फार्ममा प्रतिक्रेट (३० वटा) ठूलो अण्डाको मूल्य रु ३७० पर्दछ । मध्यमको मूल्य रु ३५५ रहेको छ ।

देशभरमा लेयर्स कुखुरा पाल्ने कृषकको सङ्ख्या दुई हजार ८०० हाराहारीमा छन् । उनीहरुबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ७५ हजार हाराहारीले रोजगारी पाएको केसी बताउँछन् । नेपालमा पोल्ट्री क्षेत्रमा रु एक खर्ब ५० अर्ब हाराहारी लगानी भएको भन्दै उनले त्यसको २५ प्रतिशत लेयर्स फार्मिङमा भएको जानकारी दिए ।
नेपाल कुखुराजन्य पदार्थमा आत्मनिभर रहेको छ । साना किसानदेखि एउटै व्यावसायिक समूहले दुई लाखसम्म कुखुरा पालेको केसीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...