कोरोनाले अदुवा व्यापार फष्टाएपछि किसान गदगद

Ginger

काठमाडौँ । दाङको राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी महादेव चौधरी लमही बजार आइपुगे। उनले सडक पेटीमा अदुवाको थुप्रो देखे। अनि अदुवा किन्न थाले। कोरोनाको कहरबाट बच्न धेरैले धेरै घरेलु औषधी खान सुझाएका छन्।

चौधरीले जाडो बढ्दै जाँदा गर्मी बढाउन अदुवा किनेको बताए। ‘कोरोनाको डर पनि छ । अदुवा मिसाएको चिया खायो भने शरीरमा गर्मी पैदा गर्छ’,उनले भने,‘एक किलो किने ।’ घोराही उपमहानगरपालिका वडा नम्बर १९ सैघामा फलेको अदुवा बिक्रीको लागि लमही सम्म ल्याएका छन्। किसान आफैले अदुवा बिक्रीको लागि यहाँ सम्म ल्याएका हुन्।

‘थोकमा सस्तो मूल्यमा किन्न खोज्छन् । विचौलियालाई मोटाउन दिनु भन्दा आफै दुई चार रुपैयाँ हुन्छ कि भनेर यहाँ आएका हौँ’जगत विकले भने,‘कोरोनाले गर्दा होला अदुवा बिक्री भैरहेको छ ।’

एक सय रुपैयाँ किलोमा अदुवा बिक्री भैरहेको हो । आफ्नै बारिमा फलेको टिमुर समेत साथमा बिक्रीको लागि राखेका छन्। लकडाउन हुनु अघि जगतले ट्याक्टर चलाउथे । लकडाउन पछि ट्याक्टर चलाउन छाडेर खेतिकिसानीमा जोडिएका छन्।

‘टमाटर खेती पनि राम्रो भयो । अहिले अदुवा बेच्न हिँडेको छु’उनले भने,‘दिनभरी घाममा बसेको खर्च उठ्छ । यसैमा खुशी लाग्छ ।’ घर व्यवहारले थिच्दै जाँदा सब थोकको अनुभव गराउने गरेको उनले सुनाए । ‘दुई चार रुपैयाँ कसरी कमाउन सकिन्छ भनेर धेरै योजना बनाए । काममा हात हाले । अहिले अदुवा बेचेर खर्च जुटाएको छु’उनले भने,‘घोराहीमा सडकमा व्यापार गर्न पाइँदैन । नगर प्रहरीले लखेट्छन । त्यहीँ भएर यता उता डुल्नु परेको छ ।’

निमा घर्तीले ४ रोपनी जग्गामा अदुवा खेती गरेकी छिन् । त्यहीँ अदुवा बिक्री गर्न बजार झरेकी हुन् । ‘दिनभरी घाम खाएर अदुवा बेच्छु । आफै किसान आफै व्यापारी हुँदा फाइदा हुँदो रहेछ’, उनले भनिन,‘दैनिक १० लम्बरी सम्म बिक्री हुन्छ ।’

दाङको पहाडी भेगमा अदुवाको व्यवसायिक खेती हुने गरेको छ । पहाडमा फलेको अदुवा अहिले शहरमा झरेको छ । किसानले आफै अदुवा बिक्री गर्न शहर झरेका हुन्। दाङसहित प्यूठान, रोल्पा, रुकुम जिल्लामा अदुवाको खेती हुने गर्छ ।

 

प्रतिकृया दिनुहोस