अर्को वर्ष विद्युत् महशुल अझै घटाउँछौंः ऊर्जामन्त्री पुन

Barsaman 768x458

काठमाडौँ । ऊर्जा क्षेत्रको विस्तृत अध्यन गरी नीतिगत सुझाव पेश गर्न मन्त्रिपरिषदद्धारा गठित कार्यदलको पहिलो बैठक बसेको छ । बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आगामी वर्ष पनि विद्युत शुल्क घटाइने बताएका हुन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री पुनले इतिहासमै पहिलोपटक चालु आवमा विद्युत् प्राधिकरणले घरेलु र औद्योगिक ग्राहकको शुल्क घटाइएको स्मरण गर्दै महशुल थप घट्ने जानकारी दिएका हुन् । उनले भने, ‘आगामी वर्ष प्राधिकरणले थप सस्तोमा विद्युत् उपलब्ध गराउने छ’ ।

खिम्ती जलविद्युत आयोजनाको ५० प्रतिशत शेयर स्वामित्व सरकारमा आएको र आगामी हिउँदभित्रै ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युुत उत्पादन सुरु हुने भएकाले सस्तोमा बिजुली दिन सकिने ऊर्जा मन्त्री पुनको भनाइ थियो ।

‘खिम्तीमा ५० प्रतिशत सरकारको स्वामित्व कायम भएको छ, प्रतिमेगावाट ४ रुपैयाँको हाराहारीमा उत्पादन हुने माथिल्लो तामाकोशीको उत्पादन आगामी हिउँदमै हुने भएकाले आगामी वर्ष फेरि विद्युत महसुल घटाइन्छ’, बैठकमा मन्त्री पुनले भने ।

मन्त्री पुनले वर्तमान सरकार गठन भएपछि ऊर्जा दशक कार्यक्रमअन्तर्गत घोषणा गरिएको १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य हासिल गर्ने गरी काम भइरहेको चर्चा गरे । सरकारी र निजी क्षेत्रको लगानीमा १५ हजार मेगावाट विद्युतको उत्पादन सजिलै हुनै भन्दै उहाँले बजारको पनि समस्या नरहेको स्पष्ट गरे ।

१० हजार मेगावाट विद्युत आन्तरिक र ५ हजार मेगावाट बाह्य बजारमा पठाउने गरी नीतिगत र प्रक्रियागत तयारीका काम अघि बढेको जानकारी उनले दिए । इन्डक्सन चुल्हो, एसी र विद्युतीय सवारीको प्रयोगले विद्युत खपत बढेको तथा औद्योगिक क्षेत्र र कृषि मिटरका लागि ठूलो परिमाणमा विद्युतको माग आएको र १० प्रतिशत जनसंख्यामा अझै विद्युतीकरण गर्न बाँकी रहेको भन्दै मन्त्री पुनले बजारको समस्या नरहेको बताए ।

प्रतिकृया दिनुहोस