भोलिदेखि उपत्यकामा फुटपाथ र ठेला पसल खोल्न पाइने, कस्ता पसल कुन बार खोल्न पाइन्छ ?

Futpath pasal

काठमाडौँ । भोलिदेखि उपत्यकामा फुटपाथ पसल तथा ठेला पसलहरु खोल्न पाइने भएको छ । हरेक दिन यस्ता पसल सञ्चालन गर्न पाइने भएको हो। यद्यपी समय भने तोकिएको छ। बिहान ११ बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म यस्ता पसल खोल्न पाइनेछ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सामूहिक बैठकले बुधबार यस्तो निर्णय गरेको हो । अब बारअनुसार अन्य पसलहरु पनि संचालन गर्न पाइनेछ ।

अब सपिङ मलहरू, कपडा, जुत्ताचप्पल पसलहरू, कस्मेटिक, फेन्सी स्टोर साताको तीन दिन मात्रै खुल्नेछन् । त्यस्ता पसल सोमबार, बुधबार र शनिबार खुल्ने छन् । अत्यावश्यक सेवामध्ये खाद्यवस्तु, दुध, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु बिक्री वितरणमा समय तोकिएको छ ।

त्यस्ता पसल हरेक दिन बिहान ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खोल्न दिइने छ । यसअघि बिहान ११ बजेसम्म मात्र खोल्न दिइँदै आएको थियो ।

इलेक्ट्रीक र स्टेशनरी पसल हरेक दिन बिहान ११ बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म खोल्न पाइनेछ। भाँडा र भान्साजन्य पसल आइतबार, मंगलबार र शुक्रबार खोल्न पाइनेछ ।

निर्माण सामग्रीका पसल, निर्माण सामग्री ढुंगा, बालुवा, सिमेन्ट, रड, डन्डीलगायत बोक्ने ट्रक, टिपरहरूलाई यसअघि नै सञ्चालन हुन दिइएको थियो। यस्ता पसल तथा ढुवानीको काम हरेक दिन दिउँसो २ देखि ७ बजेसम्म गर्न पाइने छ ।

फर्निचर र अटोमोबाइल सम्वन्धी पसल सोमबार र बुधबार खोल्न पाइनेछ। सवारीसाधन मर्मत गर्ने वर्कसप हरेक दिन बिहान ८ देखि साँझ ८ बजेसम्म खोल्न पाइनेछ । 

अब टेक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन सकिने छ । त्यसका लागि स्वास्थ्य मापदण्ड पालना गरेर मध्याह्न १२ देखि बेलुका ७ बजेसम्म खुला गरिएको छ । अब सहकारी पनि खोल्न पाइने छ । तर, सहकारीलाई बिहान ११ देखि ३ बजेसम्म खोल्न दिइने छ ।

प्रतिकृया दिनुहोस