२० दिनपछि सार्वजनिक कार्यक्रममा देखिए उत्तर कोरियाली नेता किम जोङ उन

Kim un public koria

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । कोरियाली समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले दिएको खबर अनुसार शुक्रबार एक कार्यक्रममा उनी सहभागी भएका हुन् ।

यसअघि उनी अप्रिल १२ मा सार्वजनिक रुपमा देखिएका थिए । लामो समयदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका उनी गम्भीर रुपले बिरामी भएको दाबी गरिँदै थियो ।

प्योङयाङको दक्षिणी क्षेत्रमा रहेको सुनचोन प्रान्तमा निर्माण गरिएको एक रसायनिक मल उद्योगको निर्माण समापन पछिको उद्घाटन कार्यक्रममा शुक्रबार किम सहभागी भएको केसीएनएले जनाएको छ ।

अप्रिल ११ पछि किमले सार्वजनिक कार्यक्रममा भाग लिएको खबर तथा तस्बिर उत्तर कोरियाले सार्वजनिक गरेको थिएन । अप्रिल ११ मा उनले सत्तारुढ दल कोरियन वर्कर्स पार्टीको बैठकमा भाग लिएको बताइएको थियो ।

अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक नेता तथा किम उनका हजुरबा किम इल सुङको १०८ जन्मदिन थियो । सो दिनलाई उत्तर कोरियामा विषेश दिनका रुपमा मनाइने गरिन्थ्यो ।

सो दिनमा पनि किम कुनै कार्यक्रममा सहभागी भएको सार्वजनिक नभएपछि उनी गम्भीर बिरामी रहेको वा मृत्यु भएको अड्कल गर्दै अन्तराष्ट्रिय मिडियाहरुमा खबर आएका थिए । केही दिनअघि मात्रै पनि दक्षिण कोरियाली अधिकारीहरुले भने किम सकुशल रहेको दाबी गरेका थिए ।

उत्तर कोरियाली समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)ले किम सहभागी भएको कार्यक्रमका धेरैवटा तस्बिर शनिबार सार्वजनिक गरेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस