यस्तो छ चीनले पहिलोपटक सार्वजनिक गरेको कोरोनाविरुद्धको भ्याक्सिन

Vaccine corona 22

काठमाडौं । चीनले पहिलो पटक आफ्नो देशमा तयार गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन एक प्रदर्शनका क्रममा सार्वजनिक गरेको छ । सोमबार बेइजिङमा आयोजना गरिएको एक इभेन्टमा चिनियाँ कम्पनी सिनोभ्याक बायोटेक र सिनोफार्मको तर्फबाट तयार गरिएका भ्याक्सिन प्रदर्शन गरिएको छ । तेस्रो तथा अन्तिम चरणको परीक्षणमा रहेका यी दुई भ्याक्सिन अहिलेसम्म बजारमा आइसकेका छैनन् ।

सिनोभ्याक बायोटेक र सिनोफार्मको तर्फबाट तयार गरिएका कोरोनाविरुद्धका भ्याक्सिनको अहिले तेस्रो तथा अन्तिम चरणको परीक्षण विभिन्न देशमा जारी छ । हजारौँ चिनियाँ नागरिकले भने यो भ्याक्सिन लगाइसकेका छन् ।

सिनोभ्याक कम्पनीका एक अधिकारीले समाचार संस्था एएफपीलाई जनाए अनुसार कम्पनीले एक वर्षमा ३० करोड भन्दा धेरै उत्पादन गर्न सक्नेगरी तयारी गरिसकिएको छ । निर्माणको काम बढाएर उत्पादन पनि बढाउने तयारी छ ।

चीनको राजधानी बेइजिङमा आयोजित ट्रेड फेयरमा भ्याक्सिन हेर्नका लागि हजारौँ मानिसको उपस्थिति रहेको थियो । कोरोना भाइरसको संक्रमण सुरुवातमा चीनबाट फैलिएकाले धेरै देशले चीनको आलोचना गर्दै आएका छन् । तर, अहिले चीनले आफ्नो छवि सुधार गरिसकेको छ । मे महिनामा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनमा निर्माण भएको कुनै पनि कोरोनाविरुद्धको भ्याक्सिन जनताको पक्षमा हुने बताएका थिए ।

सिनोफार्म कम्पनीले आफ्नो कम्पनीले उत्पादन गरेको भ्याक्सिनले कोरोनाविरुद्धको एन्टिबडी ३ वर्षसम्म कायम रहने जनाएको छ । तर, अन्तिम नतिजा भने आइसकेको छैन । चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले कोरोनाविरुद्धको भ्याक्सिन सबैको पहुँचमा हुने जनाएको छ । चीनले आफ्ना नागरिकका लागि सित्तैमा भ्याक्सिन लगाउने तयारी गरेको छ । यी दुई भ्याक्सिन परीक्षणको अन्तिम चरणमा छन् ।

 

 

प्रतिकृया दिनुहोस