काठमाडौं उपत्यकामा प्रत्येक ६ मिनेटमा १ जना नयाँ संक्रमित

Corona test19

काठमाडौं । काठमाडौं उपत्यकामा प्रत्येक ६ मिनेटमा १ जना नयाँ संक्रमित थपिएको  छ । नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रूपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । अहिले देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू गरिएको छ भने केही जिल्लामा आवतजावत बन्द गरिएको छ ।

संक्रमणको दृष्टिकोणले काठमाडौं उपत्यका थप जोखिममा छ । निषेधाज्ञाको बेला काठमाडौं उपत्यकामा दैनिक झन्डै २ सय जना संक्रमित थपिने गरेका छन् । गत ४ भदौदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा निषेधाज्ञा गरिएको छ । त्यसपछि एक साता थपिएको छ । निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकामा बिहान बेलुकाको समयमा तरकारी किनमेलमा भीडभाड बढ्ने गरेको छ ।

यस्तै, बिहान बेलुका बजार खुल्दा जनस्वास्थ्यका न्यूनतम मापदण्ड पालना हुन सकेको छैन । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले आजभोलि थपिएका संक्रमितहरू निषेधाज्ञा अघि नै संक्रमण भएको व्यक्ति हुन सक्ने बताए । उनले भने, ‘लकडाउन खोल्नेबित्तिकै मानिसहरू एकै पटक बाहिर आए । त्यसरी आउँदा जनस्वास्थ्यको मापदण्ड पालना भएन । निषेधाज्ञा प्रभावकारी भए नभएको अबको केही दिनपछि थाहा हुन्छ ।’

उनले आमनागरिकले जनस्वास्थ्यका न्यूनतम मापदण्डहरू पालना गर्नु पर्ने बताए । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले संक्रमण फैलिन नदिन स्वयं व्यक्ति सचेत र सजग हुन जरुरी रहेको बताए ।

पछिल्लो एक सातालाई आधार मान्दै काठमाडौं उपत्यकाभित्र प्रत्येक एक घण्टामा १० जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो एक साताभित्र उपत्यकामा मात्रै १ हजार ७ सय १८ जना संक्रमित थपिएका छन् । गत शुक्रबार १ सय ८२, शनिबार २ सय १६, आइतबार १ सय ८६ र सोमबार २ सय २४ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत मंगलबार २ सय ३२, बुधबार ३ सय १ र बिहीवार ३ सय ७७ जनालाई संक्रमण पुष्टि भएको छ । बिहीबार काठमाडौंमा २ सय ७०, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९६ पुगेको छ ।

प्रतिकृया दिनुहोस