म्यानचेस्टर युनाइटेडलाई हराउँदै सेभिल्ला फाइनलमा

Martial bounou 1024x682

एजेन्सी । स्पेनिस क्लब सेभिल्ला यूईएफए युरोपा लिगको फाइनलमा पुगेको छ । आइतबार लिस्बनमा भएको सेमिफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि २–१ को जित दर्ता गर्दै सेभिल्लाले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

खेलको नवौं मिनेटमा नै म्यानचेस्टर युनाइटेडले ब्रुनो फर्नान्डेसको पेनाल्टी गोलमा अग्रता लिएको थियो । डिएगो कार्लोसले पेनाल्टी क्षेत्रभित्र मार्कस रासफर्डलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । फर्नान्डेसले जनवरीमा युनाइटेड आएयताको १४ औं पेनाल्टी गोल गर्दै युनाइटेडलाई फाइनलतर्फ बढाएका थिए ।

२६ औं मिनेटमा सुसोले गोल गर्दै खेल बराबरीमा ल्याए । रियल म्याड्रिडबाट लोनमा सेभिल्ला आएका डिफेन्डर सर्जियो रेगुइलोनको क्रसमा सुसोले गरेको प्रहारलाई गोलरक्षक डेविड डे हेयाले बचाउने कुनै अवसर नै पाएनन् । ३४ औं मिनेटमा मेसन ग्रीनवुड र पल पोग्बा मिलेर बनाएको मुभको अन्त्यमा एन्थोनी मार्सियलको प्रहार पोस्टभन्दा माथिबाट गयो ।

३९ औं मिनेटमा रासफर्डको प्रहारलाई गोलरक्षक यासिन्न बौनोउले विफल पारे । इन्ज्युरी समयको पहिलो मिनेटमा रासफर्डले फितलो प्रहार गर्दा युनाइटेड पुनस् अग्रता लिनबाट चुक्यो ।


त्यसको एक मिनेट नबित्दै फर्नान्डेसको भली प्रहारमा गोलरक्षक बौनोउ बाधक बने ।दोस्रो हाफको दोस्रो मिनेटमा नै ग्रीनवुडले लामो पासलाई नियन्त्रणमा लिँदै गरेको प्रहारलाई गोलरक्षक बौनोउले बचाए ।

५४ औं मिनेटमा मार्सियलले पोग्बासँग वनटु पास खेल्दै बनाएको मुभमा मार्सियलको अन्तिम प्रहार गोलरक्षकको हातमा पुग्यो ।

खेलको ७८ औं मिनेटमा सेभिल्लाले वैकल्पिक खेलाडी लुक डे जोङको गोलमा अग्रता लियो । कप्तान जेसस नाभासले दायाँ भागबाट गरेको क्रसलाई डिफेन्डर भिक्टर लिन्डेलफले हेडर नगरी छाडेपछि अनमार्क रहेका डे जोङले सहजै उक्त बललाई पोस्टको दिशा दिए ।

गोलरक्षक डे हेया र लिन्डेलफबीच तालमेल नमिल्दा सेभिल्लाले अग्रता लिने अवसर पाएको थियो । यस जितसँगै सेभिल्लाले युरोपा लिगको उपाधि भिडन्तमा स्थान पक्का गरेको छ । अब सोमबार हुने दोस्रो सेमिफाइनलमा इन्टर मिलान र शाख्तर डोनेस्क भिड्नेछन् ।

प्रतिकृया दिनुहोस