कप्तान पारस खड्काको अप्रत्याशित राजीनामा

Paras khadka  2019 06 02

काठमाडौँ । नेपाली क्रिकेटको उपलब्धि र अन्तर्राष्ट्रिय यात्रामा सारथि बनेका पारस खड्काले राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान) को निलम्बन फुकुवा गर्दै ससर्त सदस्यता दिने निर्णय गरेको भोलिपल्ट खड्काले कप्तान पद छोड्ने धारणा सार्वजनिक गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै ३२ वर्षीय खड्काले क्यानको नयाँ कार्यसमिति, खेलाडी र अन्य साझेदारले नेपाली क्रिकेटमा राम्रो गरून् भन्ने कामना गरेका छन् । सन् २००२ मा यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका उनले सन् २००९ देखि नेपाली राष्ट्रिय टोलीको नेतृत्व गर्दै आएका थिए ।

उनले नेपाली क्रिकेटमा सबै कुरा नयाँ सुरु हुनुपर्ने बताउँदै कप्तानी छोड्ने समय भएको बताएका छन् । उनले नेपालको तर्फबाट छवटा एकदिवसीय अन्तर्राष्ट्रिय एवम् २७ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । साथै उनले नेपालको राष्ट्रिय टोलीबाट ४० वटा अन्य एकदिवसीय खेल र ५० वटा टी–२० खेल खेलेका छन् ।

उनले नेपालको यू(१५ र यू(१७ टोलीहरूमा खेल्नुको साथै तीन पटक यू–१९ विश्वकप खेलेका छन् । नेपालको क्रिकेट प्रशासन चर्को राजनीतिबाट प्रभावित भएर आईसीसीबाट प्रतिबन्धित भएको बेलामा पनि खड्काको नेतृत्वमा राष्ट्रिय टोली कायम थियो ।

उनी मैदानभित्र कप्तान भएकै बेला मैदानबाहिर राष्ट्रिय टोलीका एक छनोटकर्ता थिए । क्यान निलम्बित भएको समयमा उनले आईसीसीसँग पत्राचार गर्ने समन्वयकर्ताको भूमिका निर्वाह गरेका थिए ।

खड्काले राजीनामा दिएको घोषणा गरेपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएको छ । एक प्रयोगकर्ताले यो दुःखद खबर भएको र उनीजस्तो कप्तान पाउन गाह्रो भएको लेखेकी छन् । खड्काको राजीनामाले अरू खेलाडीलाई जिम्मेवार बनाउने टिप्पणी अर्का ट्विटर प्रयोगकर्ताले गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...