त्रिवीले भदौंको दोस्रो साता परिक्षा सञ्चालन गर्ने, केही दिनमै कार्यतालिका आउने

Tribhuwan university bilding

काठमाडौं । लकडाउन कायमै रहे पनि त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । तयसका लागि केही दिनभित्रै परीक्षा सञ्चालनका लागि कार्यतालिका प्रकाशन गर्ने तयारी भइरहेको छ ।

सम्भव भएसम्म परम्परागत र नभए अन्य विधि प्रयोग गरेर पनि परीक्षा लिने त्रिविको तयारी छ । विज्ञहरुले पनि लकडाउनको कारण प्रभावित बनेका र नियमित हुनुपर्ने परीक्षा सञ्चालन गर्न त्रिविलाई सुझाव दिएका छन् ।

त्रिविले आयोगकै निर्देशिकाअनुसार विधि तोकेर परीक्षा सञ्चालन गर्न लागेको हो । रेक्टर रेक्टर शिवलाल भुसालको संयोजकत्वमा परीक्षा सुधार समिति गठन भएको छ । परीक्षा नियन्त्रक, डिनहरु संलग्‍न समितिले परीक्षा सञ्चालन सम्बन्धी सुझाव दिएको हो ।

समितिका एक सदस्यले घरमै रहेका विद्यार्थीलाई निश्चित समयमा उत्तर बुझाउने गरी खुल्ला परीक्षा सञ्चालन गर्ने, अनलाइनबाट परीक्षा लिने, प्रचलित मोडलअनुसार नै परीक्षा लिने र आन्तरिक मुल्याङ्कनलाई मान्यता दिने गरी सुझाव दिएको जनाए ।

विश्वविद्यालय अनुदान आयोगले अनलाइन सहितका वैकल्पिक विधि प्रयोग गरेर पठनपाठनका साथसाथै परीक्षा सञ्चालन गर्न सुझाएको थियो । आयोगले कोरोना महामारीले उच्चशिक्षामा पुर्‍याएको क्षति न्यूनिकरणका लागि छाता निर्देशिका समेत जारी गरेको छ । चैतदेखि देशभरका विश्वविद्यालय र क्याम्पसमा शैक्षिक गतिविधि ठप्प छ ।

निर्देशिकामा प्रचलित विधिबाट पनि परीक्षा सञ्चालन गर्न प्राथमिकता दिनुपर्ने उल्लेख छ । उक्त विधिबाट सम्भव नभए उच्च शैक्षिक संस्थामा नै परीक्षा केन्द्र (होम सेन्टर) तोकेर पनि परीक्षा सञ्चालन गर्न सकिनेछ ।

समयसीमा तोकेर खुल्ला पुस्तक, गृहकार्य, कक्षाकार्य, प्रस्तुतीकरण, अनलाइन विधिबाट परीक्षा लिन सकिने निर्देशिकामा उल्लेख छ । विद्यार्थीले घरबाटै उत्तर लेख्ने विकल्प समेत दिन सकिने व्यवस्था गरिएको हो । वैकिल्पक प्रकृतिका परीक्षा सञ्चालन गर्दा विश्वविद्यायको आधिकारिक निकायको पूर्वस्वीकृति भने लिएको हुनुपर्नेछ ।

‘परीक्षा सञ्चालन गर्न सम्भव नभएमा पछिल्लो सेमेष्टर वा वर्षको पठनपाठन सुचारु गरि परिस्थिति सहज भएपछि अघिल्लो सेमेष्टरको परीक्षा सञ्चालन गर्न सकिनेछ,’ निर्देशिकामा भनिएको छ । विद्यार्थीलाई पछि परीक्षा लिने गरि सेमेष्टर प्रणाली वा वर्षमा स्तरोन्नति गर्न सकिने बाटो खुलेको हो ।

११ वटै विश्वविद्यालयले अनलाइन माध्यमबाट अध्यापन थालेका छन् । महामारीका बेला शैक्षिक गतिविधिलाई निरन्तरता दिन उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरणका लागि निर्देशिका जारी गरिएको आयोगका सदस्य सचिव देवराज अधिकारीले जानकारी दिए । आन्तरिक मूल्यांकन, सामाजिक दुरी कायम गरेर परम्परागत विधि, वैकिल्पक सामग्रीको प्रयोग र खुल्ला विधिबाट परीक्षा गर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस