वैज्ञानिकलाई अर्काे सफलता : भेटियो हावाबाट फैलिने कोरोनाको किटाणु मार्ने उपाय

Corona hawama marne yantra

काठमाडौं । विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाईरसका अंशहरु हावामा पनि रहने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएसंगै सिंगो विश्व समुदाय चिन्तित बनेको थियो । तर यही चिन्ताले समाधानको बाटो पनि पहिल्याएको छ ।

यसखाले सर्वब्यापी समस्याको निदान गर्न वैज्ञानिकहरु सफलताको नजिक पुगेका छन् । न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटीका वैज्ञानिकहरु अल्ट्राभाईलेट किरणद्वारा हावामा फैलिएका कोरोना भाईरसलाई मार्ने विषयमा अनुसन्धान गरिरहेका छन् ।

अल्ट्राभाईलेट किरणलाई अस्पताल, विद्यालय, एअरपोर्ट, बसपार्क, रेल स्टेशनलगायतका सार्वजनिक स्थलहरुको हावामा रहेका भाईरस मार्न प्रयोग गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् । कोलम्बिया युनिभर्सिटीको सेन्टर अफ रिसर्च स्कुलका निर्देशक डाक्टर डेविड वर्नरले यस्तो खुलासा गरेका हुन् ।

अस्पताल र विभिन्न शोध तथा अनुशन्धान स्थलहरुको सफाईमा मात्रै प्रयोग गरिंदै आएको अल्ट्राभाईलेट किरणलाई सार्वजनिक स्थलहरुमा पनि प्रयोग गर्न सकिने तर्कले कोरोना महामारी ब्यवस्थापनमा केही आशा जगाएको छ ।

डा. वर्नरका अनुसार विशेष प्रकारको फार युवी लाईट अर्थात अल्ट्राभाईलेट किरणबाट कोरोना भाईरसलगायतका विभिन्न शुक्ष्म जीवहरुलाई मार्न सकिन्छ । अल्ट्राभाईलेट किरणको हल्का डोजबाटै ९० प्रतिशत किटाणु मार्न सकिने डा. वर्नरले दावी गरेका छन् ।

यसले मानिसको छालामा कुनै हानी नपुर्याउने हुनाले घरका कोठाहरुको सफाईका लागि पनि प्रयोग गर्न सकिने उनको दावी छ । लकडाउन खोल्ने तयारी हुँदै गरेको अमेरिकाका सबै सार्वजनिक स्थलहरुमा अल्ट्राभाईलेट किरणको प्रयोग गर्ने ब्यवस्था मिलाउनु पर्ने डा। वर्नरले सुझाव दिएका छन् ।

उनको सुझावमा सार्वजनिक स्थलहरुको सरसफाईमा विशेष ध्यान दिनु पर्ने र यसका लागि रोबोटको प्रयोग गर्नुपर्ने उल्लेख छ । लकडाउन खोल्ने तर यस बारे ध्यान नदिने हो भने पुनः विश्वले अर्को अनिष्ठपूर्ण झट्का झेल्नु पर्ने डाक्टर डेविड वर्नरले चेतावनी पनि दिएका छन् । एजेन्सी 

प्रतिकृया दिनुहोस