चीनका राष्ट्रपति सी पहिलोपटक उत्तर कोरियाको राजकीय भ्रमणमा जाने

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले पहिलोपटक उत्तर कोरियाको राजकीय भ्रमणमा जाने भएका छन् । चिनियाँ राष्ट्रपछि सी आउँदो बिहीबार दुई दिने राजकीय भ्रमणका लागि उत्तर कोरिया जाने भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

सीले उत्तर कोरियाली नेता किम जोङ–उनसँग भेटवार्ता गर्ने छन् । वार्तामा कोरियाली प्रायद्विपको तनावका बारेमा छलफल हुने बताइएको छ ।

पछिल्लो १४ वर्षमा कुनै पनि चिनियाँ राष्ट्र प्रमुखले गर्न लागेको उत्तर कोरियाको यो पहिलो औपचारिक भ्रमण हो । सन् २०१२ मा सत्तामा आएका सीको यो पहिलो उत्तर कोरिया भ्रमण हो ।

जापानमा अर्को हप्ता हुने जी–ट्वेन्टी सम्मेलन पूर्व सीले उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् । जापानमा हुने सम्मेलनमा सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने अपेक्षा छ ।

अमेरिका र उत्तर कोरियाबिचको सम्बन्धमा दरार आएका बेला उत्तर कोरियाको सहयोगी चीनका राष्ट्रपतिको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।


प्रतिकृया दिनुहोस