हातखुट्टा बाँधेर नदीमा पसेका भारतीय जादुगर लाहिरी बेपत्ता, मृत्यु भएको आशङ्का

नयाँ दिल्ली । भारतका एक प्रख्यात जादुगर हातखुट्टा बाँधेर जादु देखाउन नदीमा छिरेपछि बेपत्ता भएका छन् । उनको मृत्यु भएको आशङ्का गरिएको छ । पश्चिम बङ्गालको कोलकातास्थित हूग्ली नदीमा छिरेका चञ्चल लाहिरी सुरक्षित रूपमा बाहिर आउने अपेक्षा गरिएको थियो । तर उनी पानीभित्रै हराए ।

मानिसहरू उनी पानीमा छिरेको हेर्न जम्मा भएका थिए । तर पछि ती जादुगर बाहिर ननिस्किएपछि उनीहरूले प्रहरीलाई खबर गरे । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

छवटा ताला लगाइएको साङ्लोले उनको खुट्टा बाँधिएको थियो । उनलाई एउटा डुङ्गाबाट पानीमा ओरालिएको थियो। नदीमा दुईवटा डुङ्गामा बसेर तथा माथि पुल र नदी किनारमा भेला भएर मानिसहरूले त्यो रमिता हेरेका थिए । प्रहरी र गोताखोरहरूले नदीमा आइतवार साँझ खोजी गरेका थिए । तर लाहिरी भेटिएनन् । 

एक अधिकारीले हिन्दूस्तान टाइम्स पत्रिकालाई बताएअनुसार शव नभेटिएसम्म उनलाई मृत घोषणा गर्न सकिँदैन । एउटा स्थानीय पत्रिकाका लागि फोटो खिच्ने जयन्त श पनि लाहिरीको जादु हेर्न गएका थिए ।

जादुको काम सुरु हुनुभन्दा अगाडि आफूले लाहिरीसँग कुरा गरेको उनले बीबीसीलाई बताए । उनी भन्छन्, मैले किन ज्यान जोखिममा पारेर जादु देखाउन लागेको भनेर सोधेको थिएँ । उनी हाँसे र भने मैले राम्ररी गरे भनेँ यो जादु हुन्छ । मैले गल्ती गरेँ भने यो दुःखान्त हुन्छ ।

ती जादुगरले मानिसहरूमा जादुप्रति रुचि जगाउन त्यसो गर्न खोजेको शलाई बताएका थिए ।पानीभित्र जोखिमपूर्ण जादु देखाउने यो उनको पहिलो प्रयास भने थिएन । बीस वर्षअघि एउटा सिसाको बाकसमा राखेर उनलाई पानीभित्र छोडिएको थियो । त्यतिबेला उनी सकुशल बाहिर आएका थिए । शले त्यो जादु पनि हेरेका थिए । उनी यसपालि पानीबाहिर आउँदैनन् भन्ने मैले कल्पना पनि गरेको थिइनँ, उनले भने ।

प्रतिकृया दिनुहोस