प्रेमीले बिहे गर्न नमानेपछि प्रेमिकाले अनुहारमा खन्याइन् एसिड

काठमाडौं । युवतीले बिहे गर्न अस्वीकार गरेपछि युवकको अनुहारमा एसिड खन्याएकी छन् ।  भारतको नयाँ दिल्लीस्थित विकासपुरीमा एक युवकले आफूसँग विवाह गर्न नमानेपछि युवतीले उसमाथि एसिड प्रहार गरेकी छन् । 

अघिल्लो साताको मंगलवार दिउँसो युवक मोटरसाइकल चलाइरहेका थिए र बाइकमा पछाडि तिनै युवती थिइन् । युवकले बिहे गर्न अस्वीकार गरेपछि रिसाएकी युवतीले एसिड आक्रमण गरेको स्वीकार गरेकी छन् ।  प्रहरीले १९ वर्षीया युवतीलाई आइतवार पक्राउ गरेको हो । 

आरोपित युवतीले प्रेमीमाथि एसिड आक्रमण गर्नुअघि आफ्नै दुई औंलामा त्यसको परीक्षण गरेकी थिइन् । एसिड धेरै खतरनाक त छैन नि भनी उनले परीक्षण गरेकी थिइन् । एसिडले प्रेमीको ज्यान नजाने विश्वास लागेपछि उनले आक्रमणको निर्णय लिइन् । सोमवार राति युवतीले एसिडलाई कोल्ड ड्रिंकको २०० एमएल बोतलमा भरेर पर्समा लुकाएकी थिइन् । 

मंगलवार युवकले युवतीलाई बीए पहिलो वर्षको परीक्षा दिलाउन नरेला लगेका थिए ।  युवतीले एसिड लुकाएको पर्स बाहिर राखेर परीक्षा दिइन् । पछि उनीहरू परीक्षा हलबाट फर्किंदा युवतीले प्रेमीलाई हेल्मेट स्ट्रिपले समस्या आएकोले हेल्मेट उतार्न भने । युवकले हेल्मेट उतारे अनि त्यसको केही क्षणपछि नै उनीमाथि एसिड आक्रमण भयो । 

दुवैले यस विषयमा प्रहरीसमक्ष उजुरी दिएनन् । तर भोलिपल्ट युवकले एक आँखा ७० प्रतिशतसम्म क्षतिग्रस्त हुन सक्ने थाहा पाए । त्यसपछि चाहिँ उनले प्रहरीसमक्ष उजुरी दर्ता गरे । उनले प्रेमिकामाथि शंका गरे । प्रहरीले युवकमाथि आक्रमण भएको स्थानको सीसीटीभी क्यामरा हेर्दा आक्रमणको संकेत पाएन ।

युवतीले पनि आफ्नो स्वास्थ्य जाँच गरिनन् जबकि उनका दुई औंलामा एसिड खसेको थियो । अनुसन्धान अधिकारीहरूले उनलाई औंला कसरी डढ्यो भनी सोध्दा युवती आत्तिइन् र स्वास्थ्य जाँच गराउन मानिन् । प्रहरीले उनीमाथि शंका गरेर गहन अनुसन्धान गरेपछि युवतीले सत्य कुरा ओकलिन् । 

प्रहरीले सोधपुछ गर्दा युवतीले प्रेमीको अनुहार बिगारेर अरू कुनै केटीले उसलाई मन नपराऊन् भन्ने उद्देश्य लिएको बताइन् । त्यसपछि युवकले उनैलाई विवाह गर्लान् भन्ने युवतीको आशा थियो । अहिले उनी आफ्नो कामको पश्चात्ताप गरिरहेकी छन् ।

प्रतिकृया दिनुहोस