बलात्कार अभियुक्त विधायकलाई भेट्न भाजपा सांसद साक्षी महाराज किन पुगे जेल ?

काठमाडौं । भारत उत्तर प्रदेशको उन्नावबाट विजयी भएका भारतीय जनता पार्टी (भाजपा) का सांसद साक्षी महाराज बुधकार सीतापुर जिल्ला कारागार गए । उनले त्यहाँ बन्दी रहेका भाजपा विधायक कुलदीप सेंगरसँग भेटघाट गरे ।

कुलदीप सेंगर उन्नाव जिल्लाको बांगरमउ सिटबाट भाजपाका विधायक हुन् र उन्नावको बहुचर्चित बलात्कार घटनाका मुख्य अभियुक्त हुन् । भेटपछि सांसद साक्षी महाराजले भने, ‘यहाँका हाम्रा निकै यशस्वी र लोकप्रिय विधायक कुलदीप सेंगर धेरै दिनदेखि यो जेलमा छन्

चुनावपछि धन्यवाद दिनका लागि यहाँ भेट्न आएको हुँ ।’ कुलदीप सेंगर उन्नाव बलात्कार काण्डका मुख्य अभियुक्त भएकाले देश तथा अन्तर्राष्ट्रिय स्तरमा पनि उन्नाव चर्चामा रह्यो । आफन्तको साथ लागेर कामको खोजीमा कुलदीपको घरमा गएका बेला आफूमाथि उनले बलात्कार गरेको पीडित बालिकाको भनाई छ ।

पीडित बालिकाका पिताको मृत्यु भएको छ । उनको मृत्यु पहिलेको भिडियो भाइरल भएको थियो, जसमा उनले आरोप लगाएका थिए कि विधायका भाइ र अरु केही मानिसले उनलाई कुटपिट गरेका थिए ।

कुलदीपविरुद्ध उन्नावको माखी प्रहरी चौकीमा बलात्कार आरोप उजुरी परेको थियो । यो घटनाको जाँच सिबिआईबाट गर्न भएको आदेश अनुसार सिबिआईले नै उनलाई पक्राउ गरेको हो । घटनाको जाँचमा ढिलाई भएकाले यसप्रति इलाहाबाद उच्च अदालतले पनि हस्तक्षेप गरेको थियो । साक्षी महाराज र सेंगरको भेटलाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

तर अधिकारीहरु भने यो भेट गलत नरहेको बताउँछन् । सेंगर अभियुक्त रहेको र दोषी प्रमाणित भइनसकेको तथा विधायक पनि रहेकाले भेट गलत नहुने राज्यका महान्यायाधिवक्ताको भनाई छ ।

प्रतिकृया दिनुहोस