वार्ता प्रस्ताव सुडानका विपक्षी कार्यकर्ताद्वारा अस्वीकार

काठमाडौं । सुडानमा विपक्षी नेता–कार्यकर्ताले देशको सैन्य परिषदले वार्ताका लागि गरेको प्रस्ताव अस्वीकार गरेको छ । विपक्षीहरुले सैन्य परिषद प्रदर्शनकारीहरुमाथि हिंसात्मक दमनमा उत्रिएको भन्दै उनीहरुलाई विश्वास गर्न नसकिने जनाएको छ ।

अर्धसैनिक बलले लोकतन्त्र समर्थक एक सय प्रदशर्नकारीहरुको हत्या गरेको विपक्षी कार्यकर्ताहरुले दाबी गरेका छन् । उनीहरुले राजधानी खारतुम नजिकको नाइल नदीबाट मात्र ४० शब निकालेको बताएका छन् ।

विपक्षी कार्यकर्तासँग सम्बन्ध राख्ने सुडानका डाक्टरहरुको एक कमिटीले आफ्नो फेसबुक पेजमा ४० जना शहीदहरुको शव नाइल नदीमा भेटेको उल्लेख गरेको छ ।

यसै ग्रुपका एक सदस्यले बीबीसीसँग कुरा गर्दै ती शबहरुलाई आफुले अस्पतालमा देखेको र मर्नेहरुको संख्या एक सय रहेको दाबी गरेका छन् । हत्या गर्नुअघि ति व्यक्तिहरुलाई बर्बरतापूर्वक पिटेको सुडानी पत्रकारहरुले पनि जनाएका छन् । हिंसात्मक दंगापछि खारतुमका स्थानीयहरुले आफुहरु घरबाट बाहिर निस्कन नसकेको बताएका छन् ।

सुडानमा यतिबेला सैनिक शासन छ र त्यसका नेता जनरल बुरहानले घटनाका बारेमा जाँच गर्ने बताएका छन् । गत अप्रिलदेखि नै प्रदर्शनकारीहरुले सेनाको हेडक्वार्टरअघि प्रदर्शन गरिरहेका छन् ।

३० बर्ष सत्तामा रहेका राष्ट्रपति अमर अल बशीरलाई हटाएर सेनाले सत्ता आफ्नो हातमा लिएको थियो । गत मंगलबार मात्रै जनरल बुरहानले प्रदर्शनकारीहरुको साथ सम्झौताका लागि गरिएको प्रयास विफल भएको भन्दै अबको ९ महिनामा निर्वाचन गराउने घोषणा गरेका थिए । (एजेन्सी)

प्रतिकृया दिनुहोस