अन्ततः अमेरिकाले टेक्यो घुडा, कुनै पूर्वशर्तविना इरानसँग वार्ता गर्न तयार

बेलिन्जोना । इरानसँग ‘कुनै पूर्वशर्त विना कुराकानी गर्न’ वासिङ्टन तयार रहेको आइतबार अमेरिकाले बताएको छ । अमेरिकाले इरानका ‘गलत गतिविधि’लाई नियन्त्रण गर्न आवश्यक कदम चाल्ने कुरामा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जोड दिए ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले स्वीट्जरल्याण्डका विदेश मन्त्री इग्नाजिओ कासिससँगको संयुक्त पत्रकार सम्मेलनमा भने, “हामी ‘कुनै पूर्व शर्तविना’ इरानसँग कुराकानी गर्न तयार छौँ । उनीहरूसँग बसेर छलफल गर्न चाहन्छौँ ।”

“तर उक्त इस्लामिक गणतन्त्रको ‘रिभोलुसनरी फोर्स’ बाट हुने गलत गतिविधिलाई आधारभूतरूपमा नै पराजित गर्नेतर्फ भने अमेरिकी प्रयास जारी रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने छ ।”

डोनाल्ड ट्रम्पले अमेरिकासँगको युद्धले इरानको आधिकारिक अन्त्य हुने चेतावनी दिएका थिए । इराकको अमेरिकी दूतावासनजिकै भएको मिसाइल आक्रमणपछि ट्रम्पको यस्तो भनाइ आएको थियो ।

पछिल्लो केही समययता अमेरिका इरानकोबीचमा तनाव बढेको छ । अमेरिकाले मध्यपूर्वमा बमसहितको विमान वाहक पठाएसँगै दुई मुलुकको तनाव बढेको हो । यसअघि अमेरिकाले इराकबाट अनावश्यक रहेका कर्मचारीलाई पनि फिर्ता बोलाउने निर्णय गरेको थियो ।

यद्यपि ट्रम्पले इरानसँग वार्ता भएर यो तनाव समाधान हुने विश्वास व्यक्त गरेका छन् । उनले इरानले अमेरिकासँग युद्ध नगर्ने आशा रहेको बताएका छन् । इरानले पनि अमेरिकाको प्रतिबन्धको विरुद्धमा नझुक्ने बताउँदै आएको छ ।

उसले अमेरिकाको प्रतिबन्धको डटेर सामना गर्ने बताएको छ । गत वर्ष अमेरिकाले सन् २०१५ मा भएको न्युक्लियर सम्झौताबाट बाहिरिँदै इरानमाथि प्रतिबन्धको निर्णय गरेको थियो । त्यसयता इरान र अमेरिकाबीचको सम्बन्ध चिसिएको हो । साथै अमेरिकाले इरानी तेल खरिदको लागि दिएको छूटको म्याद पनि सकिएको छ ।


प्रतिकृया दिनुहोस