दोस्रो कार्यकालका लागि प्रधानमन्त्री मोदीले आज शपथ ग्रहण गर्दै

काठमाडौं । भारतमा नयाँ सरकार गठनका लागि नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालका लागि आज शपथ ग्रहण गर्दै छन् ।  १७ औं लोकसभा चुनावबाट बहुमतले विजयी हात पारेको भारतीय जनता पार्टीका तर्फबाट मोदी दोस्रो पटक प्रधानमन्त्री बन्न लागेका हुन् । 

आज साँझ हुने शपथ समारोहमा विमस्टेकका सदस्य राष्ट्रका राष्ट्र प्रमुख र प्रधानमन्त्रीलाई निमन्त्रण गरिएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले एक समारोहकाबीच स्थानीय समय अनुसार साँझ ७ बजे मोदीलाई शपथ ग्रहण गराउनेछन् ।

मोदीले प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गर्ने तय भएपनि नयाँ बन्ने सरकारका मन्त्रीहरुको बारेमा अझै टुङ्गो लाग्न सकेको छैन । भाजपा अध्यक्ष अमित शाह र मोदीबीच लामो समय वार्ता चलेपनि मन्त्रीमण्डलमा को को सहभागि हुने भन्ने विषय बाहिरिएको छैन । यसैबीच आजको समारोहलाई ध्यानमा राखि राजधानी दिल्लीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

राष्ट्रपति भवनमा हुने शपथ समारोहमा झन्डै ६ हजार सर्वसाधारण, व्यवसायी, कलाकार, खेल क्षेत्रका व्यक्तित्वहरुलाई पनि आमन्त्रित गरिएको छ ।  

प्रतिकृया दिनुहोस