अष्ट्रियामा सरकार ढल्यो, युवा चान्सलर कुर्जले पाएनन् विश्वासको मत

चुनावअघिको भिडियोले गुम्यो सत्ता

एजेन्सी ।  अष्ट्रियाको संसदले चान्सलर सेबास्टिएन कुर्जलाई सत्ताबाट हटाएको छ । संसदको विशेष अधिवेशनमा चान्सलर कुर्ज विरुद्धको अविश्वास प्रस्ताव पारित गर्दै संसदले उनलाई पद मुक्त गरेको हो । कुर्जको गठबन्धन सरकारका सहयोगी पार्टी फार–राइट फ्रिडम पार्टी (एफपिओ) र विपक्षी दल सोसियल डेमोक्र्याटिक (एसपिओ) पार्टीले अविश्वास प्रस्तावको पक्षमा मत दिएका हुन् ।


सन् २०१७ को एक गोप्य भिडियो जसमा राजनीतिक हित र स्वार्थको कुरा गरिएको छ, सो भिडियो सार्वजनिक भएपछि सुरु भएको राजनीतिक विवादमा एफपिओ सबैभन्दा बढि अलमलिएको अवस्थामा रह्यो । अन्ततः उसले गठबन्धन भंग गर्दै चान्सलर क्रुज र गठबन्धन सरकारको विपक्ष अर्थात अविश्वास प्रस्तावको पक्षमा मत दिएको हो ।


अष्ट्रियाका राष्ट्रपतिले भाइस चान्सलर हार्टविग लोगरलाई अन्तरिम नेता अर्थात अन्तरिम चान्सलर नियुक्त गरेका छन् । टेलिभिजन सम्बोधनमा राष्ट्रपति एलेक्सान्ड्र भान डेर बेलिनले संवैधानिक म्यान्डेड पूरा गर्नु पर्ने भएकाले केही मन्त्रीहरुलाई अन्तरिम उत्तराधिकारी चयन नहुँदासम्म काममा रहने भनेका छन् । क्रुजको पार्टी सेन्टर–राइट पिपुल्स पार्टी (ओभिपी) का सदस्य समेत रहेका लोगरले नयाँ अन्तरिम सरकार गठबन नभएसम्म नेतृत्व सम्हाल्ने छन् । आउँदो सेप्टेम्बरमा चुनाव हुने अनुमान गरिएको छ।


लोगर केही दिनअघि मात्रै भाइस चान्सलरमा नियुक्त भएका थिए । गोप्य भिडियो सार्वजनिक भएपछि एफपिओका नेता हिइन्ज–क्रिष्टियन स्ट्राच भाइस चान्सलरबाट बर्खास्त भएका थिए । कन्जरभेटिभ अष्ट्रियन पिपुल्स पार्टीका नेता समेत रहेका कुर्ज युद्धपछिको अष्ट्रियन इतिहासमा विश्वासको मत नपाएर सत्ताबाट बाहिरिने पहिलो चान्सलर हुन् । उनी सन् २०१७ मा निर्वाचित हुँदा मात्रै ३१ वर्षका थिए र उनी विश्वका सबैभन्दा कम उमेरका सरकार प्रमुख बनेका थिए ।


१८३ सांसद रहेको तल्लो सदनमा ५२ सदस्य रहेको विपक्षी पार्टी एसपिओले कुर्ज र सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएको थियो । सो प्रस्तावको पक्षमा ५१ सांसद रहेको एफपिओले पनि साथ दिएको हो । अविश्वासको प्रस्ताव पास हुन सामान्य बहुमत भए पुग्छ । अविश्वास प्रस्ताव पारित भएपछि क्रुर्जले अन्तरिम सरकारलाई साथ रहने बताएका छन् । उनले आफ्नो पार्टी ओभिपीले देशमा स्थायित्व ल्याएरै छाड्ने पनि उनले उल्लेख गरेका छन् ।


सन् २०१७ को चुनाव भन्दा केही हप्ताअघि रेकर्ड गरिएको भिडियोमा रुसी धनाड्यकी भतिजीलाई अष्ट्रियन पत्रिकाको ठूलो हिस्सा खरिद गरि आफूहरुको पार्टीलाई सहयोग गर्ने खालका सामग्री प्रकाशित गर्न प्रस्ताव गरिएको छ । सो भिडियोमा कुर्ज पनि देखिएका छन् । सो भिडियो जर्मन सञ्चार माध्यमले प्रकाशित गरेको हो ।

प्रतिकृया दिनुहोस