जेठ १५ देखि गणतन्त्र सङ्ग्राहलय खुल्ला हुँदै

काठमाडौँ । नारायणहीटिभित्र बनेको गणतन्त्र सङ्ग्रहालय यही जेठ १५ देखि सर्वसाधारणका लागि खुल्ला हुने भएको छ । नेपालमा गणतन्त्रको स्थापना कसरी भयो भन्ने स्मरण गर्दै नेपाल सरकारले गणतन्त्र संग्रहालयको सञ्चालनमा ल्याउन लागेको हो ।

सङ्ग्रहालयभित्र गणतन्त्रसँग सम्बन्धित तस्बिर, सम्बन्धित सामग्री, लेखरचना आदि सङ्कलनको जिम्मा नेपाल कला परिषदले पाएको छ । परिषदले आफ्नो ७५ प्रतिशत काम पुरा गरिसकेको काउन्सिलका कार्यकारी सदस्य नरेश सैँजुले जानकारी दिए ।

‘काठमाडौँका विभिन्न पुराना तथा नयाँ फोटोग्राफर मार्फत नेपालका विभिन्न राजनीतिक घटनाक्रम लगायत वि.सं.२००७ सालअघिका तस्बीर पनि सङ्कलन गरिसक्यौं’, उनले भने । 

पहिले नारायणहिटी सङ्ग्राहलयभित्र पूर्व राजाको जीवनशैली, खानपान, उनीहरुले प्रयोग गरेका लत्ताकपडा आदि मात्र हेर्न पाइन्थ्यो । उक्त सङ्ग्राहलय स्थापना भइसकेपछि नेपालमा प्रजातन्त्रको प्राप्ति कसरी भयो, राजतन्त्रको अन्त्य कसरी भयो भन्ने जानकारी पछिका पुस्ताले समेत अवलोकन गर्न पाउने अर्का सदस्य सचिव जीवन राजोपाध्याय बताए ।

 उनी भन्छन्, ‘सङ्ग्राहलयमा यतिवटा नै तस्बीर र सामग्री राख्ने भन्ने टुङ्गो लागेको छैन ।’ परिषदले तस्बीरको सङ्कलनको काम पुरा गरिसकेको उनले जानकारी दिए । उनका अनुसार आजको प्रतिष्ठानको वैठकपछि कुन कुन तस्बीर राख्ने भन्ने टुङ्गो लाग्नेछ । 

सङ्ग्राहलयले गणतन्त्रसम्बन्धि जानकारी दिने मात्र नभई विभिन्न अध्ययन अनुसन्धान गर्ने व्यक्तिलाई समेत सहयोगी भूमिका खेल्न सक्ने परिषदका अध्यक्ष तथा सस्कृतिविद सत्यमोहन जोशी बताउँछन् । उनी भन्छन्, ‘यो नेपाली इतिहासलाई बचाइराख्ने एउटा महत्वपूर्ण पाइला हो ।

’ गणतन्त्रको प्राप्तिका लागि कतिकोे ज्यान गयो, कति अङ्गभङ्ग भए, कति बेपत्ता भए र कति हराय भन्ने विवरण समेत सङ्ग्राहलयमा राख्दा पछिसम्मका पीढिले त्यसबारे जानकारी पाउने उनले बताए ।

यसले राष्ट्रको इज्जत र गरिमा बढाउने जोशीले विश्वास व्यक्त गरे । उनका अनुसार सुरुवातमा थोरै मात्र सङ्ग्राहलयमा राखिए पनि पछि बिस्तार हुँदै जानेछ । सरकारले भवन पहिले नै बनाइसके पनि सङ्ग्राहलय ढिलो मात्र सञ्चालनमा ल्याउन लागेकोमा उनले दुःख व्यक्त गरे । 

नेपाल सरकारले ४२ करोडको लगानीमा बन्न लागेको उक्त सङ्ग्राहलयका लागि वैशाख आठ गते परिषदलाई जिम्मेवारी दिएको थियो । सङ्ग्राहलयलाई सजाउने जिम्मेवारी पाइसकेपछि परिषदले आफूसँग भएको ऐतिहासिक तस्बीर उपलब्ध गराउन सर्वसाधारणका लागि विज्ञापन गरेको थियो ।

कतिपय तस्बीर विज्ञापनमार्फत परिषदमा आएका थिए भने कतिपयलाई परिषदले व्यक्तिगत सम्पर्कका आधारमा सङ्कलन गरेको थियो । जनआन्दोलनका क्रममा बेपत्ता बनाइएका, हराएका, अङ्गभङ्ग भएका र मृत्यु भएकालाई झल्काउने स्मारक समेत निर्माण भइसकेकोे छ ।

स्मारकमा बहुउद्देश्यीय हल, विशिष्ट कक्ष, चमेना गृह, शौचालयलगायत संरचनासमेत निर्माण भएको छ । स्मारकभित्र एकैपटक २ हजार जना अटाउन सक्ने सभा हलसमेत निर्माण गरिएको छ । देशभित्र विभिन्न खालखण्डमा भएका आन्दोलनका दस्तावेज समेत त्यहाँ समावेश गरिनेछ ।

त्यहाँ प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउनका लागि गरिएको साहस, त्याग र बलिदानीको महत्वपूर्ण पक्ष झल्काइनेछ । मन्त्रिपरिषद् बैठकले स्मारकमा बगैंचासहितको संरचना निर्माणका लागि ८२ रोपनी जग्गा उपलब्ध गराएको थियो । तर नेपाली सेनाले जग्गा उपलब्ध नगराउँदा हाल ३५ रोपनीमा सीमित छ ।

प्रतिकृया दिनुहोस