विष्फोटको श्रृंखला: मृतकको संख्या चार पुग्यो

घाईतेको बिभिन्न अस्पतालमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको सुकेधारा र घट्टेकुलोमा आईतबार अपरान्ह विप्लव समूहका कार्यकर्ताले बम बनाउँदै गरेको स्थामा विस्फोट हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

सुकेधाराको ढलाने पुल नजिकै शैलुनमा विस्फोट हु्ँदा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा ओम अस्पतालमा मृत्यु भएको हो । घटनास्थलमा मृत्यु हुने शैलुन सञ्चालक जीवकुमार ठाकुर भएको प्रहरीले जनाएको छ भने अन्य दुई मृतकको पहिचान खुलिसकेको छैन ।

सुकेधाराको विस्फोटमा घाइते भएका अन्य चार जनाको ओम अस्पताल र एक जनाको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । ओम अस्पतालमा उपचार गराईरहेका मध्ये सुरेन्द्र महर्जन विप्लव समूहको नेवा मुक्ति मोर्चाका अध्यक्ष रहेको प्रहरीले पुष्टि गरेको छ । उनी भैसेपाटीस्थित एनसेल मूख्यालयमा गराइएको विस्फोटका लागि जिम्मेवार भन्दै प्रहरीले खोजी गरिरहेका ब्यक्तिसमेत भएको प्रहरीको भनाइ छ ।

अर्का घाइते बूढानीलकण्ठका हरि खड्का रहेको जनाइएको छ । यता, घट्टेकुलोस्थित लोकमञ्जरी कार्कीको घरको भूईतलाको कोठामा विस्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । विस्फोटमा परी मृत्यु हुने ब्यक्ति विप्लव समूहका कार्यकर्ता प्रज्वल शाही रहेको खुलेको छ । उनको शव क्षत विक्षत बनेको स्थानीयले बताएका छन् ।

विस्फोटमा परी घाइते भएका दुई जनामध्ये एक जना विप्लव समूहको विद्यार्थी संगठनको त्रिचन्द्र कलेका अध्यक्ष रविन केसी रहेको बताइएको छ । काभ्रेका बासिन्दा केसीलाई घाइते अवस्थामा भाग्दै गर्दा पक्राउ गरी अस्पताल पु¥याइएको हो । घाइते दुवै जनाको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

घट्टेकुलोमा विस्फोट भएको स्थानमा अरु पनि बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरेको थियो । उता, काठमाडौंको थानकोटमा साँझ मोटरसाइकलमा प्रेसर कुकर बम लैजाने क्रममा विष्फोट भई दुई जना घाइते भएका छन् भने ललितपुरको लगनखेल बसपार्कमा राखिएको कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

यस्तै काठमाडौको कोटेश्वरमा बम बोकेर गईरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै ग्वार्कोस्थित गुण सिनेमा हल र सातदोबाटोस्थित स्वीमिङ पुल नजिक फेला परेको कुकर बम पनि नेपाली सेनाले डिस्पोज गरेको छ ।

प्रतिकृया दिनुहोस