डाक्टरको चरम यातनापछि मेडिकलकी छात्रा पायलले गरिन् अस्पतालभित्रै आत्महत्या

काठमाडौँ । डाक्टरले चरम यातना दिएपछि मेडिकलकी छात्राले अस्पतालभित्रै आत्महत्या गरेकी छन् । एमडी दोस्रो वर्षकी २६ वर्षीया छात्रा पायल सलमान तडवीले आत्महत्या गरेको जनाइएको छ । उनी मुम्बईको बिवाइएल नायर नामको एउटा अस्पताल काम गर्थिन् । 

२२ मेमा पायलले आत्महत्या गरेको समाचारमा जनाइएको छ । उनी अस्पतालमा ‘रेजिडेन्ट डाक्टर’ थिइन् । मिडिया रिपोर्टका अनुसार महाराष्ट्र असोसिएशन अफ रेजिडेन्ट डाक्टर्स (एमएआरडी) का एक प्रतिनिधिले २२ मेमा पायलले तीन शल्यक्रिया गरेको बताए ।

उनका अनुसार कुनै तनावमा नदेखिएकी पायल शल्यक्रिया पछि आफ्नो कोठामा गइन् । आफ्नो स्कार्फले पङ्खामा झुण्डिएर आत्महत्या गरेको अवस्था फेला परेकी थिइन् । पायलका परिवारका सदस्यले अस्पतालकै तीन सिनियर डाक्टरले उनलाई टर्चर दिने गरेको आरोप लगाएका छन् ।

पायल आदिवासी समुदायकी युवती हुन् । उनी आरक्षण कोटाबाट भर्ना भएकी थिइन् । पायलकी आमाका अनुसार वरिष्ठ डाक्टरले उनलाई जाती र आरक्षण कोटाबाट भर्ना लिएको विषयमा पटकपटक कमेन्ट गर्ने गरेको आरोप लगाएकी छन् ।

उनलाई आराम गर्न नदिई घण्टौं काम गराउने परिवारको आरोप छ । सिनियर डाक्टरले उनलाई अपरेशन थिएटरमा काम गर्न नदिने पनि आरोप लगाएको छ । पायलको परिवारले पुलिसलाई ह्वाट्सएप ग्रुपको च्याट पनि देखाएका छन् जसमा आरोपी डाक्टरले उनीमाथि जातीय टिप्पणी गरिरहेका छन् ।

पुलिसका अनुसार पायलले दुई महिनाअघि नायक अस्पतालको एचओडीलाई लिखित उजुरी पनि दिएकी थिइन् । तर पछि श्रीमानको आग्रहपछि उनले आफ्नो उजुरी फिर्ता लिइन् । पायलका श्रीमान् पनि मुम्बईका डाक्टर हुन् ।

तीनै आरोपी डाक्टर अहिले फरार छन् । पुलिसले उनीहरुविरुद्ध आत्महत्याको लागि उक्साएको, एन्टी र्यागिङ एक्टलगायत अन्य मामलामा मुद्दा दर्ता गर्दै उनीहरुको खोजी गरिरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस