छिट्टैै खुल्दै तातोपानी नाका गृहमन्त्री र व्यवसायीले गरे अवलोकन

काठमाडौं । चिनियाँ पक्षले आगामी सातासम्ममा तातोपानी नाका सञ्चालनमा ल्याउने बताएपछि गृहमन्त्री रामबहादुर थापा र व्यवसायीहरुको छुट्टाछुट्टै टोलीले नाकाको अवलोकन गरेको छ ।

आगामी साता नाका खुलाउने भएपछि त्यहाँको तयारीका विषयमा अवलोकन गर्न दुवै टोली शनिबार तातोपानी नाका पुगेको हो । अवलोकनपछि गृहमन्त्री थापाले नाका छिटो खुलाउन नेपाल सरकार तयार रहेको बताए ।

लामो समयदेखि बन्द रहेको नाका खुला भए दुवै देशलाई राम्रो हुने भन्दै यसका लागि नेपाल सरकारबाट गर्नुपर्ने काम भइरहेको समेत बताए । नाका सञ्चालनमा आएपछि हुने सुरक्षा लगायतका कामहरु गर्न सरकार प्रतिवद्ध रहेको उनले जानकारी दिए । नाका सञ्चालनमा आएपछि सामानहरुको सुरक्षामा सरकारले विशेष ध्यान दिनुपर्ने व्यवसायीहरुले माग गरेका थिए ।

अवलोकनका लागि नेपाल राष्ट्रिय व्यवसायी महासंघका पदाधिकारीहरु तातोपानी नाका पुगेका थिए । महासंघका अध्यक्ष नरेश कटुवालले नाका सञ्चालनमा आएपछि भन्सार र व्यवसायीहरुको सीधा पहुँच हुनुपर्ने बताए ।

भन्सारमा विचौलियाहरुको विगविगी हुने गरेको भन्दै अध्यक्ष कटुवालले विचौलियालाई बाहिर खेदाएर व्यवसायीहरु आफैंले भन्सार छुटाउन सक्ने वातावरण बनाउनु पर्ने बताए । आगामी १७ गते नाका सञ्चालनमा आउने अनौपचारिक जानकारी आफूले पाएको भए पनि आवश्यक पूर्वाधार भने अझै अपुग भएको बताए ।

‘नाका त सञ्चालनमा आउँदैछ, तर बाटो अझै दुरावस्था छ,’ अध्यक्ष कटुवालले भने, ‘सरकार सडक पूर्वाधार र व्यवसायको सुरक्षामा गम्भीर हुनुपर्छ ।’

नाका खुल्ने भएपछि व्यवसायीहरु उत्साहित भएको समेत उनले बताए । सरकारीतर्फबाट सुरक्षाको प्रत्याभूति आफूले पाएको भन्दै यसलाई व्यवहारमा पनि उतार्न आवश्यक रहेको उनले बताए ।

‘गृहमन्त्रीज्यू आफैं अवलोकनमा आउनु भएको छ, सीडीओ सापले पनि सुरक्षामा सम्झौता हुँदैन भन्नु भएको छ,’ उनले भने, ‘अब यसलाई व्यवहारमा उतार्न सक्नुपर्छ ।’

महासंका अध्यक्ष कटुवाल, प्रथम उपाध्यक्ष नयन पण्डित क्षत्री, उपाध्यक्ष गोविन्द कार्की, महिला उपाध्यक्ष रुपमणी सेढाईं, सहकोषाध्यक्ष कुसुम महर्जन लगायतको ३४ जनाको टोलि शनिबार नाका तातोपानी पुगेको थियो ।


प्रतिकृया दिनुहोस