राहुल गान्धी र ममता बेनर्जीको राजीनामा पार्टीद्वारा अस्वीकार

नयाँ दिल्ली ।  केहीदिनअघि भएको लोकसभा चुनावमा पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेपछि भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धी र तृणमूल कंग्रेसकी अध्यक्ष तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले राजीनामा दिने बताए। तर ती दुबै पार्टीले उनीहरूको राजीनामा अस्वीकार गरेका छन् ।

१७ औं लोकसभा चुनावमा पनि पार्टीले पाँच वर्षअघिकोजस्तै नतिजा ल्याएपछि शनिबार बसेको कंग्रेस (आई) को केन्द्रीय समिति बैठकमा राहुलले हारको सत प्रतिशत जिम्मा लिँदै आफू अब अध्यक्षमा बस्न नचाहेको बताएका थिए । 

आफू पार्टीको सिपाहीका रूप लड्ने तर अध्यक्षबाट राजीनामा दिने भन्दै उनले राखेको प्रस्तावले केन्द्रीय समितिले एक मतले अस्वीकार गरेको थियो ।

शुक्रबार सार्वजनिक भएको लोकसभाको मतपरिणाममा कंग्रेसले ५४२ मध्ये ५२ सिटमात्र जितेको थियो भने सत्तारूढ भारतीय जनता पार्टीले ३ सय ३ सिटमा जित हात पारेको थियो ।

यता पश्चिम बंगालमा आफ्नो पार्टी तृणमूल कंग्रेसलाई धक्का लागेपछि मूख्यमन्त्री ममता बेनर्जीले पनि पदबाट राजीनामा दिन चाहेको बताएकी छन् ।

चुनावी परिणाम आएपछि शनिबार पत्रकार सम्मेलनमा बोल्दै बेनर्जीले आफूले मुख्यमन्त्रीबाट राजीनामा दिन चाहेको बताइन् ।

‘मैले पार्टीलाई भनिसकेकी छु, छ महिनादेखि मैले काम गर्न सकेकी छैन । म एक कमजोर मुख्यमन्त्री थिएँ । र म यो स्वीकार्न सक्दिनँ ।  म मुख्यमन्त्री भइरहन चाहन्नँ । मेरा लागि कुर्सी केही पनि होइन, पार्टीको प्रतीक ज्यादै महत्वपूर्ण हो,’ बेनर्जीले भनिन् ।


लोक सभा चुनावमा बेनर्जीको पार्टीले  ४२ मध्ये २२ सिट जितेको छ भने भाजपाले १८ सिट हात पारेको छ । पाँच वर्षअघि पश्चिम बंगालमा तृणमूलले ३४ सिट जितेको थियो भने भाजपाले दुई सिटमात्र हात पारेको थियो ।बेनर्जीले आफ्नो राजीनामा प्रस्ताव पार्टीले अस्वीकार गरिदिएको पनि जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस