मोदी एनडीए संसदीय दलको नेतामा सर्वसम्मत

नयाँदिल्ली ।  भारतीय जनता पार्टी (भाजपा) तथा भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक अलाएन्स (एनडीए) को संसदीय दलको नेतामा भाजपा नेता तथा निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सर्वसम्मत चुनिएका छन्।


भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले प्रचण्ड बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार राष्ट्रपतिलाई भेट गरी राजीनामाको प्रस्ताव गर्दै नयाँ प्रधानमन्त्री चयनका लागि मार्ग प्रशस्त गरेका थिए।


भारतीय संसदीय परम्परा अनुसार बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाइने भएकाले निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदीय दलको नेता चयन गरिएको हो।  भाजपा नेता मोदीलाई भाजपाको संसदीय दलको नेताका रूपमा भाजपा अध्यक्ष अमित शाहले प्रस्ताव गरेका थिए। नेता राजनाथ सिंहले प्रस्तावलाई भाजपा संसदीय दलको तर्फबाट समर्थन गरेका थिए।

भाजपा नेता सिंहद्वारा मोदीको नाम भाजपा तथा एनडीएको संसदीय दलको नेताका रूपमा सर्वसम्मत चयन भएको घोषणा गरेका थिए। अप्रिल ११ देखि मे १९ सम्म गरी विभिन्न सात चरणमा लोकसभाको ५४२ सीटका लागि भएको निर्वाचनमा नरेन्द्र मोदीको दल भाजपा एक्लैले ३०३ सीट प्राप्त गरेको भारतीय निर्वाचन आयोगले जानकारी गराएको छ।


संसदमा बहुमत पुग्नका लागि २७२ सीटको आवश्यकता हुन्छ भने यो सदस्य सङ्ख्या भाजपाका लागि दुई तिहाई पुग्नका लागि ९ सीट कमी हो। त्यस्तै भाजपाको नेतृत्पमा रहेको गठबन्धन एनडीएको लोकसभामा जम्मा ३५० सीट पुगेको छ। लोकसभामा दोस्रो ठूलो दल भारतीय नेशनल कंग्रेस (कङ्ग्रेस–आई) ले ५२ सीट ल्याएको छ भने उसको गठबन्धन यूनाइटेड प्रोग्रेसिभ अलाएन्स (यूपीएं) ले ८५ स्थानमा विजय हासिल गरेको छ। अन्य दल तथा स्वतन्त्रले गरी १०७ सीट ल्याएका छन् ।


प्रमुख निर्वाचन आयुक्त सुनिद अरोराले निर्वाचन परिणामको औपचारिक जानकारी शनिबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई गराएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिकृया दिनुहोस