अपडेटः त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु

बस सडकबाट ३० मिटर तल त्रिशूली नदीमा खसेको थियो

धादिङ । धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर ६ बन्छेटारस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा बस खस्दा ज्यान जानेको संख्या आठ पुगेको छ । काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना.७. ख ४३८७ नम्बरको रात्रीबस आइतबार बिहान ६ बजेतिर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी इलामको कन्याम निवासी २० वर्षीय विशाल गिरी, चन्द्रागीरी नगरपालिका बस्ने ३५ वर्षीया सिता थपलिया र थानकोट निवासी ५१ वर्षीय राजकुमार सुवेदी र धादिङ वेनिघाट रोराङका राजन आचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ ।

यसैगरी दुर्घटनामा परी मृत्यु हुनेहरूमा प्रकाश श्रेष्ठ र शेखर मगरको भने ठेगाना खुल्न सकेको छैन भने अन्य दुई जनाको सनाखत हुन नसकेको पनि प्रहरीले जनाएको छ । 

दुर्घटनामा २९ जना घाइते भएकोमा १४ जनाको अवस्था चिन्ताजनक रहेकोमा उनीहरूलाई उद्धारपछि तत्काल काठमाडौं पठाइएको थियो भने बाँकी घाइतेहरूलाई स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि काठमाडौं पठाइएको छ । घाइतेहरूको गजुरी, आदामघाट र गल्छीमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार गराइएको थियो ।

दुर्घटनाको खबर आएलगत्तै शशस्त्र प्रहरी वल, नेपाल प्रहरी, नेपाली सेना, राजमार्ग उद्धारकर्मी, रेडक्रसकर्मी र स्थानीयवासीले घाइतेहरूको उद्धार सुरू गरेका थिए भने धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार वैदवार लगायतका सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमा पुगेका थिए । बस अत्यधिक गतिका रहेका कारण उकालोबाटोमा एक्कासी अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

प्रतिकृया दिनुहोस