गरे के हुदैन र ? यी २३ वर्षीय लक्का जवान,जसले डेरीबाटै मासिक २ लाख कमाउँछन्

काभ्रे । सबै युवाहरु विदेश पलायन भइरहेको अवस्थामा नेपालमा नै आफैंले लगानी गरेर केही गर्न सकिन्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–२ का २३ वर्षीय युवा महेश घिमिरेले देखाएका छन् । 

‘एकगाउँ एक उत्पादन’ अन्तर्गत उद्योग वाणिज्य संघ, काभ्रे शाखाको सहयोगमा ‘सबल डेरी’ सञ्चालन गरी व्यक्तिगत लगानी समेत गरी सञ्चालन गर्दै आएका छन् । डेरीजन्य उत्पादनको राम्रो बजार रहेको उनको बुझाइ छ ।

डेरी सम्बन्धी विषय पढाइ सकिसकेपछि उनले आफूले नै डेरी सञ्चालन गरेका हुन् । उनी भन्छन्, ‘म सँगै पढ्ने साथीहरु सबै बिदेश पलायन भइसके,’ उनले भने, ‘विदेशमा गएर अरुको गुलाम बन्नु भन्दा आफ्नै देशमा मालिक बन्नु बेस ।’ नेपालमा नै आफूले केहीगर्न चाहे प्रशस्त अवसर रहेको उनी बताउँछन् । 

सुरुवातमा घिमिरेले उद्योग वाणिज्य संघसँग सम्झौता गरेका थिए । उनको विषय त्यही भएकाले संघले पनि उनको भावनालाई कदर गर्दै तत्काल अनुमति दिएको थियो । उनले आफ्नो व्यक्तिगत १६ लाख र उद्योग वाणिज्य संघले दिने ४ देखि ६ लाखसम्मको रकमबाट कामको निरन्तरता दिएका थिए ।

उनले २०७३ बैसाख महिनाबाट ‘सबल डेरी’ उद्योग वाणिज्य संघमा दर्ता गरी कामको सुरुवात गरेका थिए । ‘नेपालमा नै आफूले सीप सिकेर काम गर्ने हो भने प्रशस्त संभावना छ’, उनी थप्छन, ‘त्यसका लागि परिवारको सहयोग र आफूसँग थोरै पुँजि भए पनि पुग्छ ।’

परिवारको साथ, सहयोग र हौसलाबाट नै आफूलाई काम गर्ने हौसला मिलेको उनी बताउँछन । नेपालमा परिवारको साथको अभावबाट नै युवालाई कामगर्ने अवसर नमिलेको उनको ठम्याइ छ । 

घिमिरेले डेरीका लागि आवश्यक दुध काभ्रेको पनौति, नाला र बनेपा गरी तीन क्षेत्रबाट संकलन गर्दै आएका छन् । उनले दैनिक रुपमा ती क्षेत्रबाट एक हजार लिटरसम्म दुध संकलन गर्ने गरेका छन् । डेरीको क्षमता ठूलो भएकाले अन्य क्षेत्रबाट पनि दुध संकलन गर्ने तयारीमा रहेको उनी बताउँछन् । 

विदेशमा जाने लाखौं युवाका लागि प्रेरणाका स्रोत बन्न चाहन्छन् उनी । नेपालमा अवसर छैन भन्ने युवालाई मुर्ख हुन भन्ने धारणा उनको छ । उनको डेरीमा हाल चार जनाकार्यरत छन् । डेरीको क्षमता विस्तार पछि अन्य थुप्रैलाई रोजगारी दिने उनको लक्ष्य छ । 

दुई वर्षदेखि डेरी सञ्चालन गर्दै आएका उनले आफूले विशेष गरेर स्थानीय क्षेत्रलाई केन्द्रित गरी डेरीजन्य उत्पादन गर्दै आएका छन् । उनले डेरी सञ्चालन गरेको एक महिनामा नै राम्रो प्रतिक्रिया आयो । 

प्रतिकृया दिनुहोस