क्यानाडाबाट आयात हुने स्टिल र आल्मुनियममा लाग्दै आएको कर हटाउन अमेरिका सहमत

वासिंटन । अमेरिकाले क्यानाडाबाट आयात हुने स्टिल र आल्मुनियममा लगाउँदै आएको कर हटाएको छ । अमेरिकाको यो कदमपछि उत्तर अमेरिकी खुला व्यापार सम्झौतामा सहमति जुट्ने संकेत देखिएको छ ।

अमेरिका र क्यानाडाले संयुक्त वक्तव्य जारी गर्दै स्टिलमा लगाउँदै आएको २५ प्रतिशत र आल्मुनियनमा लाग्दै आएको १० प्रतिशत कर ४८ घण्टाभित्रै हट्ने जनाएका छन् । अमेरिका र मेक्सिकोबीच पनि यस्तै सम्झौता हुनसक्ने सम्भावना देखिएको छ ।

अमेरिकाले गत वर्ष राष्ट्रिय सुरक्षाको कारण भन्दै विभिन्न देशबाट आयात हुने स्टिल र आल्मुनियनमा भारी शुल्क वृद्धि गरेको थियो । सम्झौताअनुसार अब तीन देशमा विदेशबाट स्टिल र आल्मुनियम खरिद गर्न कुनै सीमा तोकिने छैन । अमेरिका र क्यानडाले आयातको निगरानी गर्ने र कुनै देशले एकदमै बढी खरिद गर्दा आवश्यक परेमा सहमतिबाटै आयात शुल्क लगाउन सक्ने भएका छन् ।

आयात शुल्क हटाउनुको मुख्य उद्देश्य अमेरिका–क्यानडा र मेक्सिकोबीच व्यापार सम्झौता गर्नु रहेको बताइएको छ । अमेरिका र मेक्सिको स्टिल र आल्मुनियममाथि लगाएको कर हटाउन सहमत भएमा दुवै देशले व्यापार सम्झौतामा सहमत भएको मानिने छ । 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यो शुल्कले दुवै देशका मजदुर र उपभोक्तालाई क्षति पुगेको बताए । उनले स्टिल र आल्मुनियममा कर लगाउनुको औचित्य नभएको र अब व्यापार सम्झौता गर्नेतर्फ अघि बढ्नुपर्ने बताए ।

 

प्रतिकृया दिनुहोस