दुबै सदनको चौथो अधिवेशन आजदेखि सुरु हुँदै

नीति तथा कार्यक्रम २० वैशाखमै प्रस्तुत गर्ने तयारी

काठमाडौं । संघीय संसद्का दुवै सदनको चौथो अधिवेशन आजदेखि सुरु हुँदैछ । 

सोमबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको दुवै सदनको बैठकमा सहभागी हुने सांसद राजधानी आइसकेका छन् । गत १० चैतमा तेस्रो अधिवेशन सकिएपछि सांसदहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा जनताका समस्या बुझ्न र आगामी वर्षका योजनाको विषयमा छलफल गर्न जिल्ला पुगेका थिए ।

वैशाख ८ मा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभा र माथिल्लो सदन राष्ट्रिय सभाको चौथो अधिवेशन सोमबारदेखि सुरु हुने आह्वान गरेकी थिइन् । राष्ट्रपतिबाट आह्वान भएपछि बजेट अधिवेशनका रूपमा चल्ने चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ ।  

नेपालको संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । संघीय संसद् सचिवालयका अनुसार चौथो अधिवेशनका लागि प्राविधिकलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।

वर्षे अधिवेशनका रूपमा रहने यो अधिवेशनमा सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गर्दछ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम आगामी २० वैशाखमै प्रस्तुत गर्ने गरी तयारी गरिरहेको छ । संविधानमै व्यवस्था भएअनुरूप सरकारले वार्षिक बजेट १५ जेठमा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

गत वर्ष सरकारले बजेट अधिवेशन ३१ वैशाखमा बोलाएर ७ जेठमा सरकारको नीति तथा कार्यक्रम ल्याएको थियो । यो वर्ष पनि १ जेठमै नीति तथा कार्यक्रम ल्याउने तयारी सरकारको छ । अधिवेशन सुरु भएको चौथो दिनमै सरकारको नीति तथा कार्यक्रम ल्याउने गरी तयारी भइरहेको राष्ट्रिय योजना आयोगले जनाएको छ । यसअघि गत ११ पुसदेखि सुरु भएको हिउँदे अधिवेशन १० चैतमा अन्त्य भएको थियो । 

प्रतिकृया दिनुहोस