नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक ‘स्टिकर’ सार्वजनिक

काठमाडौं । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने अभियानअन्तर्गत भ्रमण वर्षको लोगोसहितको आधिकारिक ‘स्टिकर’ सार्वजनिक गरेको छ । 


आइतबार पर्यटन बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले भ्रमण वर्षको लोगो र नारासहितको स्टिकर पर्यटक बस र माइक्रोमा टासेर औपचारिक रुपमा उद्घाटन गरेका हुन्।


नेपाल पर्यटक यातायात व्यवसायी संघ, पर्यटक ट्याक्सी व्यवसायी सङ्घ तथा पर्यटन क्षेत्रका विभिन्न संगठनका प्रतिनिधिलाई स्टिकर प्रदान गरिएको थियो। मन्त्रालयका सचिव सापकोटाका अनुसार पर्यटक बस तथा माइक्रोमा सुरुवाती चरणमा स्टिकर टाँसिएको र अब सबै बसहरुमा टाँसिनेछ। बसको माध्यमबाट भ्रमण वर्षको प्रचारप्रसार हुने भन्दै स्टिकर टाँसिएको हो।


सचिव सापकोटाले नेपाल पर्यटनक लागि विश्वकै आकर्षक र सुरक्षित गन्तव्य भएको सकारात्मक सन्देश प्रवाह गर्न पर्यटनका सकारात्मक सामग्री सम्प्रेषण गरी भ्रमण वर्षलाई सहयोग पु¥याउन सम्बद्ध सबैलाई आग्रह गरे।

नेपाल भ्रमण वर्ष कार्यक्रम कार्यान्वयन उपसमितिले ‘समृद्ध नेपाल बनाऔँ, विश्वमा नेपाल चिनाऔँ’ तथा ‘गरौ तयारी धुमधाम, पाहुनालाई गराऔँ घुमघाम’ भन्ने नारासहित स्टीकर तय गरेको हो।


भ्रमण वर्षको लोगो तथा मूल नारा भिजिट नेपाल ‘लाईफ टाइम्स एक्सपेरियन्स’ यसअघि नै सार्वजनिक भइसकेको थियो। मूल नारामा थप दुई नारा थपेर लोगोसहितको स्टिकर बनाइएको छ।


सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई उत्साहका साथ प्रभावकारी कार्यान्वयन गराउन प्रचार प्रसारका लागि सबै संयन्त्रलाई प्रभावकारी बनाउने निर्णय गरिसकेको छ। भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ।


भ्रमण वर्षको पूर्व सुरुवात ‘सफ्ट लञ्चिङ’ गत चैत ३० गते पोखराबाट गरिएको थियो। भ्रमण वर्षको औपचारिक सुरुवात सन् २०१९ को डिसेम्बरको अन्तिम दिन गरिने सचिव सापकोटाले जानकारी दिए ।

Video

प्रतिकृया दिनुहोस