एयरलाइन्सका प्रतिनिधि र हुम्लीबासीबिच ७ बुँदे लिखित सहमति, अब नियमित उडान भर्ने

हुम्ला ।  सुर्खेत र नेपालगंजबाट हुम्लाका लागि उडान भर्ने निजी एयरलाइन्सले भाडादर नमिलेको भन्दै भाडादर कायम गराएका छन्। जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले निजी एयरलाइन्सका प्रतिनिधि र हुम्लीबासीसँग ७ बुँदे लिखित सहमति गरेका हुन्। 

निजी एयलाइन्स कम्पनीका कर्मचारी जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतको सर्वपक्षीय बसेको बैठकले सिजनमा र अफ सिजनमा हुम्लाका लागि निजी कम्पनीका जहाजले नियमित उडान भर्ने र तोकिएको सहुलियत दरमा कायम गर्ने विषयमा सहमति भएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालाले बताए। 

आइतबार तारा र समिट एयरले नेपालगंजबाट  सिजन र विसिजनकै समयमा प्रति प्यासेन्जरलाई ६ हजारका दरले हप्तामा २र२ वटा फ्लाइट उडान भर्ने जनाइएको छ। उता सुर्खेतबाट सीता एयरलाइन्सका जहाजले २र२ उडान, अन्यले १र१ उडान भर्ने र सोको भाडा पाँचहजार ५०० लिने निर्णय गरेको छ। त्यसैगरी नेपालगंजबाट चार्टर फ्लाइटको लागि १० हजार ५०० र सुर्खेतबाट १० हजार रुपैयाँ भाडादर कायम गरेको जनाइएको छ।

त्यसैगरी सिमकोटबाट फिर्ता हुँदा सहुलियत दरमा उडान भर्ने सहमति समेत गरेको तारा एयरलाइन्सका प्रतिनिधि मनोज भारतीले बताए।  त्यसैगरी नेपालगंजबाट कार्गोका सामान उडानका लागि प्रतिकेजी ११५ रुपैयाँ र सुर्खेतबाट १०५ रुपैयाँ ढुवानी रेट कायम गरेको छ।

प्रत्येक दिन १र१ कार्गो सामान उडान भर्ने र अत्यावश्यक औषधि, खाद्यन्न र निर्माण व्यवसायका सामानलाई पहिलो प्राथमिकता दिने गरेको छ। टिकट वितरण प्रणालीलाई हुम्ली सेवा समाजलाई जिम्मा दिने र ४ वटा टिकट निजी एयरलाइन्सकै जिम्मामा काट्न लगाएको छ। उता नेपाल एयरलाइन्सले हरेक दिन एक एक फ्लाइट उडान गर्नका लागि नेपाल एयरलाइन्स नेपालगंजमा अनिवार्य गर्नु पर्ने बताइएको छ।

७७ जिल्लामध्ये सडक यातायातले नछोएको हुम्लामा सरकारी स्वामित्वका जहाज र निजी कम्पनीका जहाजले उडान नियमित गर्न आग्रह गरिएको छ। आइतबार बसेको बैठकले निजी एयरलाइन्स कम्पनीका जहाजहरूले हुम्लीबासीसँग गरेको सहमतिविपरीत काम गरेमा अर्को सिजनमा जहाज उडानमा रोक लगाउने निर्णय पनि गरेको छ।

 

प्रतिकृया दिनुहोस