श्रीलंकामा विष्फोट: मृत्यु हुनेको संख्या २०७ पुग्यो, कर्फ्यू घोषणा

शंकास्पद सातजना नियन्त्रणमा

एजेन्सी । श्रीलंकामा आइतबार भएको श्रृङ्खलावद्ध विस्फोट पश्चात श्रीलंका सरकारले देशभर कर्फ्यूको घोषणा गरेको छ । विस्फोटमा २०७ जनाको मृत्यु भएको छ भने कम्तिमा ४५० जना घाइते भएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

विभिन्न आठ ठाउँमा भएको विष्फोटमा खासगरी होटल र चर्चलाई निशाना बनाइएको छ । विष्फोटमा ३५ जना विदेशी नागरिक समेत मारिएको समेत बताइएको छ । अहिलेसम्म कसैले पनि विष्फोटको जिम्मेवारी लिएको छैन । प्रहरीले विष्फोटमा संलग्न भएको आशंकामा ७ जनालाई पक्राउ गरेको छ ।

घटनाको अवस्थाको बारेमा जानकारी लिन श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमासिंघेले मन्त्रीपरिषद्को आपतकालिन बैठक बोलाएका छन् । यस्तै विष्फोटलाई मध्यनजर गर्दै प्रहरी र डाक्टरहरुको विदा रद्द गरिएको छ भने विदामा रहेका डाक्टर र नर्सहरुलाई ड्युटीमा बोलाइएको छ । साथै सरकारले सोमबार र मंगलबार विद्यालयहरु बन्द गर्न आदेश दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिकृया दिनुहोस