श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोट हुँदा १३७ जनाको मृत्यु

घटनापछि आइतवार साँझको प्रार्थनाका कार्यक्रम स्थगित

श्रीलङ्का । श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन हुँदा सय जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ ।

शनिवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा गरेर कम्तीमा ६ वटा विस्फोटन भएका थिए । अहिलेसम्म कम्तीमा १३७ जनाको मृत्यु भएको र दुई सयभन्दा बढी व्यक्ति घाइते भएको पुष्टि भएको छ ।

कोलम्बो अस्पतालले कम्तीमा नौ जना विदेशीको मृत्यु भएको पनि जनाएको छ । घटनापछि श्रीलङ्काका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका छन् । उनले फेरि आक्रमण हुन नदिन र ती विस्फोटन कसले गराएको हो त्यो पत्ता लगाउन सुरक्षाकर्मीहरूलाई परिचालित गरिएको बताएका छन् ।

विस्फोटन हुँदा इसाई धर्मावलम्बीहरू कोच्चिकाडे, बट्टिकलोआ र कटुवापिटिया जिल्लामा रहेका गिर्जाघरमामा इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुँदै थिए । श्रीलङ्काका एक वरिष्ठ पादरीले घटनापछि आइतवार साँझको प्रार्थनाका कार्यक्रम स्थगित गरिएको बताएका छन् ।

मध्य कोलम्बोस्थित साङ्ग्रिला, सिनमन ग्र्यान्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोटन भएका थिए । अहिलेसमम्म आक्रमणको कसैले जिम्मा लिएको छैन ।

विस्फोटनपछि विमानस्थल र अन्य संवेदनशील स्थानहरूमा सुरक्षाव्यवस्था बढाइएको छ । घटनापछि सकारले भोलि र पर्सि सरकारी विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा ती विस्फोटनहरू भएका हुन् । प्रत्येक वर्ष एप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्व मनाइन्छ ।

 

प्रतिकृया दिनुहोस