भारतका प्रधानन्यायाधीशमाथि यौन उत्पीडनको आरोप

काठमाडौं । भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि यौन उत्पीडनको आरोप लागेको छ ।

गोगोईमाथि उनकै पूर्व जुनियर असिस्टेन्टले यौन उत्पीडन गरेको आरोप लगाएकी हुन् ।

३५ वर्षीया ती महिलाले सर्वोच्च अदालतमा २२ जना न्यायाधीश सबैलाई पत्र लेखी आफूलाई गोगोईले गतवर्ष अक्टोबरमा दुई पटक यौन दुव्र्यवहारको प्रयास गरेको बताएकी छन् ।

ती महिलाले गोगोईले आफूमाथि यौन उत्पीडन गरेको, उनको प्रस्तावमा सहमत नभएपछि जागिरबाट हटाएको र आफ्नो परिवारलाई विभिन्न तरिकाले प्रताडित गरेको आरोपसमेत लगाएकी छन् ।

उनले पत्रमा प्रधानन्यायाधीशले आफ्नो कम्मरमा समातेको, शरीरका सबै अंगमा हात लगाएको र आफ्नो शरीरतर्फ तानेको उल्लेख गरेकी छन् ।

तर प्रधानन्यायाधीश गोगोईले भने आफूविरुद्ध अदालतका पूर्वकर्मचारीले लगाएको आरोप अविश्वसनीय रहेको प्रतिक्रिया दिएका छन् ।

उनले आफूलाई महत्वपूर्ण मुद्दाको सुनुवाइ गर्न रोक लगाउने दुर्भावनाबाट यो प्रेरित अभिव्यक्ति मात्र भएको प्रतिक्रिया दिँदै आरोपको खण्डन गरेका छन् ।

आफूमाथिको आरोप आधारहीन भएको र यसको पछाडि कुनै ठूलो शक्तिको हात हुनसक्ने प्रतिक्रिया उनले दिएका छन् । उनले यो न्यायपालिकाको स्वतन्त्रतामाथि खतराको संकेत भएको पनि बताएका छन् ।(एजेन्सी)

प्रतिकृया दिनुहोस