भारतमा गलत पार्टीलाई मत हाल्ने मतदाताले काटे औँला

काठमाडौँ । भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले भूलवश ूगलतू पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔँलो काटिदिएको बताएका छन् । सामाजिक सञ्जालमा चर्चित भैरहेको एउटा भिडिओमा पवन कुमार नामका ती मतदाताले आफूले दूर्घटनावश सत्ताधारी भारतीय जनता पार्टीलाई मत हाल्न पुगेको बताएको देख्‍न सकिन्छ ।

उनले खासमा एउटा क्षेत्रीय पार्टीलाई आफ्नो मत दिन चाहेका तर विद्युतीय भोटिंग मशिनमा धेरै नै चुनाव चिन्हहरू देखेर आफू अलमलमा परेको बताएका छन् । मतदान गरिसकेपछि प्रत्येक मतदाताको चोरऔंलामा सजिलै मेट्न नसकिने मसीको चिन्ह लगाइदिने गरिन्छ ।

पवन कुमारले बिहीवारको निर्वाचनमा भारतको उत्तर प्रदेश राज्यको बुलन्द शहर क्षेत्रमा मतदान गरेका थिए । भारतको आम निर्वाचनमा बिहीवार दोस्रो चरणको मतदान भएको थियो । म हात्ती चुनाव चिन्हमा मतदान गर्न चाहन्थेँ, तर मैले झुक्किएर फूल चिन्हमा मत हालेँ, पवन कुमारले यसो भनेको उक्त भिडिओमा सुन्न सकिन्छ । सत्ताधारी भारतीय जनता पार्टीको चुनाव चिन्ह कमलको फूल हो भने, एउटा क्षेत्रीय शक्तिशाली पार्टी बहुजन समाज पार्टीको चुनाव चिन्ह हात्ती हो । उक्त पार्टीले अन्य दुई क्षेत्रीय पार्टीहरूसँग गठबन्धन गरेर भारतीय जनता पार्टीलाई चुनौति दिइरहेको छ ।

पवन कुमार दलित भनिने समुदायका सदस्य हुन् जुन समुदाय बहुजन समाज पार्टीको महत्त्वपूर्ण भोट ब्याङ्क मानिन्छ । बिहीवारको मतदानलाई भारतका शक्तिशाली क्षेत्रीय पार्टीहरूका लागि महत्त्वपूर्ण हुने ठानिएको छ, जुन पार्टीहरूले आआफ्नो राज्यमा स्थानीय राजनीतिलाई आफ्नो पकडमा राखेका छन् र तिनका नेता चर्चित स्थानीय राजनीतिज्ञहरू छन् ।

बीबीसी नेपाली अनलाइनमा समाचार लेखेको छकी भारतमा सात चरणमा आम निर्वाचन भैरहेको छ र मे २३ तारिखका दिन मतगणना हुनेछ ।  यो निर्वाचनमा मतदानका लागि योग्य मतदाताको संख्या ९० करोड छ र यही कारणले पनि यो निर्वाचन संसारको सबैभन्दा ठूलो निर्वाचन हो ।


प्रतिकृया दिनुहोस